काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।
बिहीबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् । बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते अर्थात् शुक्रबार संघिय संसद्को संयुक्त सदनमा प्रस्तुत हुँदैछ । भेटमा अर्थमन्त्री डा. वाग्लेले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए । अर्थमन्त्री डा. वाग्लेले शुक्रबार अपरान्ह ४ बजे सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नेछन् । बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको जनाइएको छ ।