नेपाल बसोबासको हिसाबले संयुक्त परिवारमा बस्ने देशहरूमध्ये एक हो । दक्षिण एसियामा संयुक्त परिवारको परम्परा बलियो रूपमा कायम रहेको प्रमुख देशहरूमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका पर्दछन् । त्यसैगरी चीनको ग्रामीण भेग तथा जापानमा पनि जेठो पुत्रसँगै बाबुआमा बस्ने चलन अहिले पनि केही हदसम्म विद्यमान रहेको पाइन्छ ।
नेपालमा भने पछिल्लो समय विभिन्न कारणले एक्लोपनको समस्या बढ्दै गएको देखिन्छ । विशेषगरी पढाइ, रोजगारी तथा राम्रो अवसरको खोजीमा आन्तरिक बसाइँसराइ बढ्नुका साथै ठूलो संख्यामा युवायुवती विदेश पलायन हुँदा नेपालमा रहेका बाबुआमा एक्लै बस्न बाध्य भएका छन् । गाउँघरबाट धेरै मानिस अन्यत्र बसाइँ सरेपछि छिमेकीको संख्या पनि घट्दै गएको छ । पहिले गाउँघरमा रहेको आत्मीयता, मेलमिलाप तथा दुःख–सुख साटासाट गर्ने संस्कार क्रमशः कमजोर बन्दै गएको देखिन्छ । सहरभित्र त झन् एकअर्काप्रति चासो कम हुने, आफ्नै काममा व्यस्त रहने प्रवृत्ति बढेकाले मानिसहरू भीडभित्र पनि एक्लोपन महसुस गर्न थालेका छन् ।
एक्लै बस्दा बिरामी पर्दा सहयोग गर्ने मानिस नहुनु, आफ्ना दुःख–सुख कसैसँग बाँड्न नपाउनु, उचित आहार–विहारको कमी हुनुजस्ता समस्या त छन् नै, त्यसका अतिरिक्त मानसिक रूपमा पनि गहिरो असर परेको देखिन्छ । लामो समयसम्म एक्लै बस्दा तनाव, चिन्ता, निराशा तथा डिप्रेसनजस्ता समस्यासमेत बढ्न सक्ने अवस्था रहन्छ ।
यसैबीच नेपालमा एक्लोपन बढ्नुका विभिन्न कारणहरू रहेका छन्, जस्तैः
१. पहाडबाट बेँसी वा तराई झर्ने, गाउँबाट सहर–बजारतर्फ बसाइँ सर्ने तथा विदेश पलायन हुने क्रम बढ्दा नेपालमा रहेका बाबुआमा एक्लै हुने अवस्था सिर्जना हुनु । साथै परिवारका सदस्यले आफ्नै घर वा आफ्नै जन्मस्थानमै बस्न रुचाउँदा पनि एक्लोपन बढ्नु ।
२. परिवारको सदस्य गुमाउँदा, विशेषगरी श्रीमान्, श्रीमती वा सन्तानको मृत्यु हुँदा मानिस मानसिक तथा सामाजिक रूपमा एक्लो महसुस गर्नु ।
३. सन्तानले उचित वास्ता नगर्दा वा बाबुआमासँग पर्याप्त समय नबिताउँदा वृद्धवृद्धाहरू एक्लोपनमा पर्नु ।
४. गरिबी तथा आर्थिक कठिनाइका कारण परिवारका सदस्यहरू छुट्टाछुट्टै ठाउँमा बस्न बाध्य हुँदा एक्लोपन बढ्नु ।
५. महँगी बढ्दै जाँदा जीविकोपार्जनका लागि परिवारका सदस्यहरू विदेश वा टाढा जानुपर्ने अवस्था आउनु ।
६. संयुक्त परिवार प्रणाली कमजोर हुँदै जानु तथा सानो परिवारमा बस्ने चलन बढ्नु ।
७. आधुनिक जीवनशैली, व्यक्तिगत स्वतन्त्रता र व्यक्तिवादी सोच बढ्दै जाँदा परिवारभित्रको सामूहिक भावना कमजोर हुनु ।
८. मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण प्रत्यक्ष भेटघाट तथा सामाजिक सम्बन्ध घट्नु ।
९. स्वास्थ्य समस्या, अशक्तता वा उमेरका कारण समाजमा घुलमिल हुन कठिन हुनु ।
१०. सहर क्षेत्रमा छिमेकीबीच आत्मीय सम्बन्ध कम हुनु तथा एकअर्काको दुःख–सुखमा चासो घट्दै जानु ।
११. सम्बन्ध विच्छेद, पारिवारिक विवाद वा मनमुटावका कारण अलग्गै बस्नुपर्ने अवस्था आउनु ।
१२. वैदेशिक अध्ययन वा रोजगारीका लागि गएका सन्तान उतै स्थायी रूपमा बसोबास गर्न थालेपछि नेपालमा रहेका बाबुआमा लामो समयसम्म एक्लै रहनु ।
१३. सामाजिक तथा धार्मिक गतिविधिमा सहभागिता घट्दै जाँदा मानिसहरू समाजबाट टाढिनु ।
१४. मानसिक तनाव, डिप्रेसन तथा आत्मविश्वासको कमीका कारण मानिसहरू आफैं समाजबाट अलग हुन थाल्नु ।
१५. गाउँघरमा जनसंख्या घट्दै जाँदा पहिलेजस्तो चौतारी संस्कृति, मेलापात तथा सामूहिक गतिविधि हराउँदै जानु ।
यसरी हेर्दा नेपालमा एक्लोपनको समस्या केवल व्यक्तिगत समस्यामात्र नभई सामाजिक, आर्थिक, पारिवारिक तथा सांस्कृतिक परिवर्तनसँग जोडिएको गम्भीर विषयका रूपमा देखिन्छ ।
एक्लोपन र एक्लै भोजन : अन्तर्राष्ट्रिय अनुसन्धानको दृष्टिकोण
नेपालमा मात्र होइन, संसारभरि नै एक्लोपनले विभिन्न समस्या निम्त्याएको देखिन्छ । विशेषगरी एक्लोपनका कारण एक्लै खाना खाने बानीले वृद्ध व्यक्तिहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने विषयमा विश्वका विभिन्न देशहरूमा व्यापक अनुसन्धान गरिएको पाइन्छ ।
अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको एक अध्ययनमा पछिल्ला २० वर्षमा विभिन्न देशहरूमा प्रकाशित २४ वटा अनुसन्धानहरूको समीक्षा गरिएको थियो । जापान, दक्षिण कोरिया, अमेरिका, स्वीडेन, ताइवानलगायत १० भन्दा बढी देशका वृद्ध व्यक्तिहरूको भोजन शैली, सामाजिक सम्बन्ध तथा स्वास्थ्य अवस्थासम्बन्धी अध्ययनहरूको विश्लेषण गर्दा एक्लै खाना खाने वृद्ध व्यक्तिहरूमा पोषणको कमी, तौल घट्ने, कमजोरी, डिप्रेसन तथा सामाजिक अलगावको जोखिम बढी देखिएको उल्लेख गरिएको छ ।
विशेषगरी जापान, दक्षिण कोरिया, अमेरिका, बेलायत, चीन तथा युरोपेली देशहरूमा वृद्ध व्यक्तिहरूको सामाजिक जीवन, एक्लोपन, भोजन गर्ने तरिका र स्वास्थ्यबीचको सम्बन्धलाई गहिराइमा अध्ययन गरिएको पाइन्छ । त्यसैले एक्लै हुँदा र एक्लै खाना खाँदा कस्ता समस्याहरू पर्न सक्छन् भन्ने कुरा यहाँ स्पष्ट रूपमा देख्न सकिन्छ ।
जापानमा वृद्ध जनसंख्या अत्यधिक बढ्दै गएको कारण ‘एक्लै भोजन गर्ने वृद्ध’ विषय निकै महत्वपूर्ण अनुसन्धानको क्षेत्र बनेको छ । त्यहाँ गरिएको विभिन्न अध्ययनहरूले देखाएका छन् कि नियमित रूपमा एक्लै खाना खाने वृद्धहरूमा डिप्रेसन, तनाव, स्मरणशक्ति कमजोर हुने समस्या तथा जीवनप्रतिको उत्साह घट्ने सम्भावना बढी देखिएको छ । जापानी अनुसन्धानकर्ताहरूले हजारौं वृद्ध व्यक्तिहरूको दैनिक जीवनशैली, परिवारसँगको सम्बन्ध, भोजन गर्ने वातावरण र स्वास्थ्य अवस्थाको दीर्घकालीन अध्ययन गरेका थिए । अध्ययनमा सामूहिक रूपमा खाना खाने वृद्धहरूको तुलनामा एक्लै खाने व्यक्तिहरूमा पोषणको कमी, कम भोक लाग्ने तथा आत्मीयताको अभाव बढी देखिएको उल्लेख गरिएको छ ।
दक्षिण कोरियामा पनि ’सामाजिक अलगाव‘सँग सम्बन्धित अध्ययनहरूमा एक्लै खाना खाने बानीलाई महत्वपूर्ण कारणका रूपमा हेरिएको छ । त्यहाँका अनुसन्धानकर्ताहरूले विशेषगरी सहर क्षेत्रमा एक्लै बस्ने वृद्ध व्यक्तिहरूमा उच्च रक्तचाप, मधुमेह तथा मानसिक तनावको जोखिम बढेको बताएका छन् । कोरियाली अध्ययनहरूमा खाना केवल शरीरको आवश्यकता नभई सामाजिक सम्बन्ध मजबुत बनाउने माध्यम पनि हो भन्ने निष्कर्ष निकालिएको छ ।
अमेरिकामा गरिएको अनुसन्धानले पनि वृद्धावस्थामा एक्लोपन र स्वास्थ्य समस्याबीच प्रत्यक्ष सम्बन्ध रहेको देखाएको छ । विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य संस्थाहरूले गरेको अध्ययनअनुसार एक्लै खाना खाने वृद्ध व्यक्तिहरूमा अल्जाइमर, डिप्रेसन, चिन्ता तथा मुटुरोगको जोखिम बढी हुने सम्भावना देखिएको छ । अमेरिकामा वृद्धहरूको जीवनशैलीबारे गरिएको अनुसन्धानमा परिवार वा साथीभाइसँग भोजन गर्ने व्यक्तिहरूको मानसिक स्वास्थ्य तुलनात्मक रूपमा राम्रो पाइयो । त्यहाँका वैज्ञानिकहरूले भोजनको समयमा हुने संवाद, हाँसो तथा सामाजिक सम्बन्धले मानसिक सन्तुलन कायम राख्न मद्दत गर्ने बताएका छन् ।
बेलायत तथा युरोपेली देशहरूमा गरिएको अध्ययनहरूले पनि यस्तै निष्कर्ष दिएका छन् । विशेषगरी बेलायतमा वृद्धहरूको एक्लोपनलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिन थालिएको छ । त्यहाँका अनुसन्धानहरूले एक्लै भोजन गर्ने वृद्धहरूमा भोक कम लाग्ने, नियमित खाना नखाने तथा कुपोषणको समस्या बढ्ने देखाएका छन् । कतिपय वृद्धहरूले खाना बनाउनै झन्झट मान्ने तथा एक्लै खाने इच्छा कम हुने भएकाले स्वास्थ्य कमजोर बन्दै जाने तथ्य पनि अध्ययनमा उल्लेख गरिएको छ ।
चीनमा गरिएको अनुसन्धानले परिवार प्रणाली कमजोर हुँदै जाँदा वृद्धहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको देखाएको छ । पहिले संयुक्त परिवारमा बस्ने परम्परा बलियो भए पनि आधुनिक सहरीकरण र वैदेशिक रोजगारका कारण धेरै वृद्धहरू घरमा एक्लै बस्न बाध्य भएका छन् । अनुसन्धानकर्ताहरूले एक्लै भोजन गर्ने वृद्धहरूमा निराशा, सामाजिक दूरी तथा निद्रासम्बन्धी समस्या बढेको बताएका छन् ।
यी अनुसन्धानहरूमा विभिन्न तरिका अपनाइएको थियो । केही अध्ययनहरूमा हजारौं वृद्ध व्यक्तिहरूसँग प्रश्नावलीमार्फत जानकारी लिइयो भने केहीमा दीर्घकालीन रूपमा उनीहरूको स्वास्थ्य परीक्षण गरियो । कतिपय अनुसन्धानहरूमा वृद्धहरूको भोजन गर्ने बानी, पारिवारिक सम्बन्ध, सामाजिक गतिविधि, मानसिक अवस्था तथा शारीरिक रोगहरूको तुलना गरिएको थियो । केही अध्ययनहरूले नियमित रूपमा सामूहिक भोजन गर्ने समूह र सधैं एक्लै खाने समूहलाई छुट्टाछुट्टै विश्लेषण गरेर स्वास्थ्यमा परेको प्रभाव मापन गरेका थिए ।
अनुसन्धानहरूको मुख्य निष्कर्ष के देखिन्छ भने खाना केवल पेट भर्ने साधनमात्र होइन, सामाजिक सम्बन्ध, आत्मीयता, मानसिक शान्ति तथा जीवनप्रतिको सकारात्मक भावनासँग पनि जोडिएको विषय हो । विशेषगरी वृद्धावस्थामा मानिसलाई परिवार, साथीसंगी तथा समाजको साथ आवश्यक पर्ने भएकाले एक्लोपनले स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्न सक्छ ।
नेपालजस्तो देशमा पनि सहरीकरण, वैदेशिक रोजगार तथा सानो परिवारको प्रवृत्ति बढ्दै जाँदा वृद्धहरू एक्लै बस्ने अवस्था बढिरहेको छ । त्यसैले परिवारसँग बसेर भोजन गर्ने संस्कृतिलाई जोगाउनु, वृद्धहरूलाई सामाजिक गतिविधिमा सहभागी गराउनु तथा उनीहरूसँग समय बिताउनु आजको आवश्यकता बनेको छ ।
एक्लै खाना खाने बानी र स्वास्थ्य जोखिम
दैनिक जीवनमा धेरै वृद्ध तथा युवाहरू एक्लै खाना खाने गर्छन् । धेरैले यसलाई सामान्य मान्छन्, तर नयाँ अनुसन्धानले देखाएको छ कि एक्लै खाना खाने बानी भविष्यमा स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ ।
घरमै बस्ने वृद्ध व्यक्तिहरूले एक्लै खाना खाँदा उनीहरूको स्वास्थ्यमा के असर पर्छ भन्ने विषयमा गरिएको अध्ययनहरूको उत्तर अधिकांश अवस्थामा चिन्ताजनक देखियो । अध्ययन अनुसार, एक्लै खाना खाने वृद्ध व्यक्तिहरूले कम विविधता भएको खाना खान्छन् । उनीहरूको आहारमा फलफूल र तरकारीको मात्रा उल्लेखनीय रूपमा कम हुन्छ । ताइवानको अध्ययनमा एक्लै खाने पुरुषहरूले दिनमा दुई पटकमात्र तरकारी खान्थे, जबकि समूहमा खानेहरूले करिब साढे दुई पटकसम्म खान्थे । महिलामा पनि यस्तै फरक देखियो । दक्षिण कोरियाको ठूलो अध्ययनमा एक्लै खाने वृद्ध व्यक्तिहरूले दैनिक करिब २६ ग्राम मासुमात्र खाए, जबकि समूहमा खानेहरूले ३५ ग्रामसम्म सेवन गरे । स्वीडेनमा गरिएको अध्ययनले देखायो कि एक्लै खाने वृद्ध व्यक्तिहरू ३२ प्रतिशत कम तरकारी खान्छन् र तयारी खाना धेरै प्रयोग गर्छन् ।
सामाजिक वातावरणले खाने बानीमा ठूलो प्रभाव पार्छ । जब मानिसहरू सँगै खाना खान्छन्, उनीहरू धेरै प्रकारका खाना खान प्रेरित हुन्छन् । अरूका लागि खाना पकाउँदा पनि पोषणयुक्त र विविध खाना बनाउने इच्छा बढ्छ । तर एक्लै हुँदा खाना पकाउने प्रेरणा घट्छ । एक्लै खाना खाने बानीले कमजोर आहारसँग सम्बन्ध राख्छ । नियमित रूपमा एक्लै खाना खाने वृद्ध व्यक्तिहरूले फलफूल, तरकारी र प्रोटिन कम सेवन गर्छन्, जसले उनीहरूको आहारको गुणस्तर र विविधता घटाउँछ । समयसँगै तौल घट्ने जोखिम बढ्छ । दशौं हजार वृद्ध व्यक्तिहरूमा गरिएको अध्ययनले एक्लै खाने मानिसहरूमा २९ प्रतिशतसम्म बढी अनियन्त्रित तौल घट्ने जोखिम देखाएको छ, जसले पछि आत्मनिर्भरता गुमाउने अवस्था ल्याउन सक्छ । कमजोरीको जोखिम बढ्छ । एक्लै खाने वृद्ध व्यक्तिहरूमा शरीर कमजोर हुने अवस्था बढी देखिएको छ, यद्यपि डिप्रेसनले पनि यस सम्बन्धमा भूमिका खेल्न सक्छ । यससँगै, एक्लोपन र डिप्रेसनले पनि भोक घटाउँछ, जसले खानाको मात्रा र गुणस्तर दुवै घटाउँछ । दीर्घकालीन अध्ययनहरूले देखाएका छन् कि एक्लै खाना खाने वृद्ध व्यक्तिहरूमा अनायासै तौल घट्ने जोखिम बढी हुन्छ । जापानमा ५७ हजारभन्दा बढी वृद्धहरूमा गरिएको अध्ययनले देखायो कि कहिलेकाहीँ मात्र समूहमा खाने व्यक्तिहरूमा ७ प्रतिशत बढी तौल घट्ने जोखिम थियो । नियमित रूपमा एक्लै खानेहरूमा यो जोखिम १७ प्रतिशतसम्म पुगेको थियो । गम्भीर रूपमा १० प्रतिशतभन्दा बढी तौल घट्ने सम्भावना पनि एक्लै खानेहरूमा २९ प्रतिशत बढी देखियो । यो चिन्ताजनक कुरा हो, किनभने वृद्ध उमेरमा अनियन्त्रित तौल घट्नुले अन्य स्वास्थ्य समस्या, कमजोरी तथा मृत्युको जोखिम बढाउँछ । शरीर कमजोर हुनु, सहनशीलता घट्नु र आत्मनिर्भरता गुम्नु वृद्धावस्थाको गम्भीर समस्या हो । यस्तो अवस्थामा वृद्ध व्यक्तिहरू सजिलै चोटपटक, रोग तथा असहाय अवस्थाको जोखिममा पर्छन् । जापानमा गरिएको अध्ययनले देखायो कि परिवारसँग बस्दा पनि एक्लै खाने व्यक्तिहरूमा कमजोरीको जोखिम धेरै हुन्छ । पुरुषहरूमा यो जोखिम २.५ गुणा बढी र महिलामा लगभग दोब्बर देखियो । तर जब डिप्रेसनलाई ध्यानमा राखियो, सम्बन्ध केही कमजोर देखियो, जसले मानसिक स्वास्थ्यको भूमिका पनि महत्वपूर्ण रहेको देखाउँछ । एक्लै खाना खाने व्यक्तिहरूमा प्रोटिन, पोटासियम, भिटामिन ए जस्ता महत्वपूर्ण पोषक तत्वको कमी देखियो । प्रोटिन सेवन ५८ ग्रामबाट घटेर ५१ ग्रामसम्म पुगेको पाइएको छ । एक अध्ययन अनुसार, एक्लै खाने वृद्ध व्यक्तिहरूमा खराब भोक हुने सम्भावना ७५ प्रतिशत बढी हुन्छ । यसले स्पष्ट देखाउँछ कि सामाजिक सम्बन्ध र मानसिक अवस्था खाना खाने बानीसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
निष्कर्ष
यी अध्ययनहरू प्रायः अवलोकन प्रकारका भएकाले एक्लै खाना खाने बानीले नै प्रत्यक्ष रूपमा स्वास्थ्य बिगार्छ भन्ने प्रमाण पूर्ण रूपमा छैन । तर धेरै देशहरूमा समान नतिजा देखिएकाले सम्बन्ध भने स्पष्ट रूपमा देखिन्छ । नेपालमा पनि वृद्ध एक्लोपन हुने संख्या बढिरहेको छ । एक्लोपनका कारण वा समूहमा हुँदा पनि एक्लै खाना खाने बानी सामान्य जस्तो देखिए पनि वृद्ध व्यक्तिहरूको स्वास्थ्यमा यसको गहिरो असर पर्न सक्छ । यसले पोषणको कमी, तौल घट्ने, कमजोरी तथा आत्मनिर्भरता गुम्ने जोखिम बढाउँछ र गम्भीर मानसिक तथा शारीरिक रोग लाग्न सक्ने सम्भावना पनि बढाउँछ । त्यसैले परिवार र समाजले वृद्ध व्यक्तिहरूलाई नियमित रूपमा सँगै खाना खाने वातावरण बनाउन सके उनीहरूको स्वास्थ्य, मानसिक अवस्था तथा जीवनस्तर सुधार गर्न ठूलो मद्दत पुग्न सक्छ ।
हामी बनभोजमा जाँदा आपसी रूपमा मिलीजुली खाना खान्छौं, रमाइलो गर्छौं, नाचगान गर्छौं । तर एक्लै बसेर त्यस्तो रमाइलो वातावरणमा खाना खाने कुरा सम्भव हुँदैन । त्यस्तै घरमा यदि कोही नभएको अवस्था छ भने समस्या अझ गम्भीर बन्न सक्छ । तर परिवारका सदस्यहरू सँगै छन् भने कम्तीमा बेलुकाको खाना भए पनि सँगै बसेर खाने बानीले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै पारिवारिक सम्बन्ध पनि मजबुत बनाउने निश्चित देखिन्छ ।
(यो लेख खोजमूलक सामग्रीबाट प्रस्तुत गरिएको हो । यसले चिकित्सा सल्लाहको काम गर्दैन । स्वास्थ्यसम्बन्धी कुनै पनि निर्णयका लागि योग्य स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ ।)