काठमाडौं । विश्वकै ठूलो सामाजिक तथा मानवीय सेवा संगठनमध्ये एक लायन्स क्लव अफ इन्टरनेसनलअन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाअधिवेशन भोलि जेठ १६ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा हुने महाअधिवेशनको उद्घाटन सभामुख डोल प्रसाद अर्यालले गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २० जना लायन्स सदस्य सांसदहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ । सभामुख अर्याल स्वयं पनि सम्मानित हुने कार्यक्रम रहेको छ ।
नेपालमा लायन्स अन्तर्राष्ट्रियअन्तर्गत करिब ४७ हजार सक्रिय सदस्य, २ हजार ४ सय क्लब तथा १५ वटा डिस्ट्रिक्ट रहेका छन्। संस्थाको ५५ वर्षे इतिहासमा पहिलोपटक महिला काउन्सिल चेयरपर्सन चयन भएको उल्लेख गर्दै पोखराकी लायन मिलन थापाले हाल नेपाल लायन्सको नेतृत्व गरिरहेकी छन् । उनको कार्यकाल आगामी जुन ३० मा सकिने तथा जुलाई १ देखि नयाँ लायन्स वर्ष सुरु हुने भएकाले नयाँ नेतृत्व चयन प्रक्रिया पनि अघि बढाइएको छ । लायन्स मल्टिपलको विधानअनुसार काउन्सिल परिषद्का अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिव पदका लागि निर्वाचन हुने जनाइएको छ भने केही पदमा मनोनयन गरिने छ ।
लायन्स अन्तर्राष्ट्रियले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरणलगायत क्षेत्रमा दुर्गमसम्म पुगेर सामाजिक तथा मानवीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले सञ्चालन गरेका सयौं स्थायी परियोजनामार्फत विभिन्न समुदायलाई प्रत्यक्ष लाभ पुगेको बताइएको छ ।
भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपद्का समयमा हजारौं लायन्स सदस्यहरूले उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। अन्धोपन निवारण, दादुरा–रुबेला खोप अभियान, आँखा अस्पताल स्थापना, मुटुरोग उपचार केन्द्र सञ्चालन तथा विद्यालय भवन निर्माणजस्ता क्षेत्रमा पनि संस्थाले नेपाल सरकारसँग सहकार्य गर्दै योगदान पुर्याएको छ ।
स्थानीय तहमा रहेका लायन्स क्लबहरूले समेत आफ्नै स्रोत परिचालन गरी सामाजिक सेवामूलक साना तथा ठूला कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सन् १९१७ मा अमेरिकाको सिकागोमा स्थापना भएको लायन्स अन्तर्राष्ट्रिय नेपालमा भने सन् १९७१ मा स्वर्गीय पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाको नेतृत्वमा विराटनगरबाट सुरु भएको थियो ।
यसैबीच, लायन्स अन्तर्राष्ट्रियको विश्व महाधिवेशन आगामी जुलाई ३ देखि ७ तारिखसम्म ज्यलन प्यलन मा आयोजना हुँदैछ । साथै आगामी डिसेम्बर १६ देखि १९ सम्म विभिन्न १४ देशका करिब ३ हजार प्रतिनिधि सहभागी हुने क्षेत्रीय सम्मेलन काठमाडौंमा आयोजना गरिने तयारीसमेत गरिएको छ ।