काठमाडौं, सेयर र घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढेको छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटसँगै कर बढेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा पेस गरेको आर्थिक विधेयकअनुसार आयकर ऐनसम्बन्धी व्यवस्थामा संशोधन गर्दै सेयर र घरजग्गा कारोबारको नाफामा लाग्ने पुँजीगत लाभकर बढाएका हुन् ।
अब सेयर लगानीकर्ताहरूले एक वर्ष (३६५ दिन) भन्दा बढी अवधि पुगेको सेयर बिक्री गर्दा नाफा भएमा हालको ५ प्रतिशतबाट साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ । आर्थिक विधेयकअनुसार अब एक वर्ष वा सोभन्दा कम अवधिमै कुनै सेयर बिक्री गरेर नाफा कमाए पुँजीगत लाभकर १० प्रतिशत तिर्नुपर्नेछ । हाल साढे ७ प्रतिशत मात्रै तिरे पुग्थ्यो ।
सेयर कारोबारको लाभकर मात्र नभई घरजग्गाको स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको सम्पत्ति बिक्री गर्नेले नाफा कमाउँदा साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने भएको छ । हाल यस्तो कर दर पाँच प्रतिशत थियो । यदि पाँच वर्षभन्दा कमको स्वामित्व भएको घरजग्गा कारोबारमा हाल साढे ७ प्रतिशत रहेको लाभकरलाई बढाएर १० प्रतिशत पु¥याइएको छ ।