काठमाडौं। अमेरिकी उपविदेशमन्त्री तथा सार्वजनिक कूटनीति उपमन्त्री सारा बी रोजर्स शनिबार राति काठमाडौँ आइपुगेकी छन्। नयाँ दिल्लीबाट नेपाल आएकी रोजर्स प्रधानमन्त्री बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ बनेकी छन्।
रोजर्सले मे २७ देखि जुन १० सम्म भारत, नेपाल, उज्बेकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गरिरहेकी छन्। अमेरिकी उपविदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो मध्य तथा दक्षिण एसिया भ्रमणसमेत हो।
शाह नेतृत्वको सरकार गठन भएपछि नेपालमा अमेरिकी उच्चस्तरीय भ्रमणहरू लगातार भइरहेका छन्। यसअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत सर्जियो गोरले पनि नेपाल भ्रमण गरेका थिए।
काठमाडौं बसाइका क्रममा रोजर्स विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू तथा कूटनीतिक समुदायसँग भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ। यद्यपि प्रधानमन्त्री शाहसँग उनको भेटवार्ता हुने वा नहुने विषयमा हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
नेपाल भ्रमणका क्रममा रोजर्स काठमाडौँस्थित अमेरिकन दूतावासद्वारा आयोजना गरिएको विशेष कार्यक्रम ‘द एसेन्ट समिट’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। उक्त कार्यक्रम अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले हालै विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको अवसरमा आयोजना गरिएको हो। हार्करले जेठ ६ गते सगरमाथा आरोहण गरेका थिए।
विश्लेषकहरूले पछिल्ला महिनाहरूमा नेपालप्रति अमेरिकी चासो बढ्दै गएको संकेतस्वरूप उच्चस्तरीय भ्रमणहरूलाई हेरिरहेका छन्। नयाँ सरकार गठनपछि लगातार अमेरिकी अधिकारीहरूको नेपाल आगमनले द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा क्षेत्रीय कूटनीतिक विषयहरूमा छलफललाई थप महत्व दिएको अनुमान गरिएको छ।