काठमाडौं । विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयबीच नेपालमा एयरोस्पेस क्षेत्रको क्षमता विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सहकार्यले नेपालमा एयरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधिसम्बन्धी शिक्षा, तालिम, अनुसन्धान र औद्योगिक अनुभवका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई एयरोस्पेस इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ (एमएल), एड्भान्स्ड एनालिटिक्स तथा साइबर सुरक्षाजस्ता आधुनिक प्रविधिसम्बन्धी ज्ञान र सीप विकासमा सहयोग गरिनेछ । समझदारीपत्रमा एअरबस साउथ एसियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक जर्गेन वेस्टरमायर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशिल बहादुर बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा प्रबन्ध निर्देशक जर्गेन वेस्टरमायरले नेपालमा दक्ष जनशक्ति विकासका लागि एयरबसले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञता साझा गर्ने बताए । यस सहकार्यले नेपालको उड्डयन तथा एयरोस्पेस क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ । त्यस्तै, उपकुलपति प्रा. डा. बज्राचार्यले एयरबस जस्तो विश्वस्तरीय कम्पनीसँगको सहकार्यले विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन, विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न तथा नेपालको उड्डयन क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्याउने बताए ।
समझदारीअनुसार दुवै संस्थाले अनुसन्धान, तालिम तथा शैक्षिक कार्यक्रमहरूमा सहकार्य गर्नेछन् । साथै विद्यार्थीहरूका लागि इन्टर्नसिप, प्लेसमेन्ट, कार्यशाला, सम्मेलन तथा अन्य प्राविधिक कार्यक्रम सञ्चालनका सम्भावनाबारे पनि संयुक्त रूपमा काम गरिने जनाइएको छ ।