महेन्द्र शाही
सोलुखुम्बु, पुस ११
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले मंसिर महिनामा सवारी कारबाहीबाट भण्डै दुई लाख राजस्व संकलन गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार दुई सय ७५ वटा सवारी साधनलाई कारबाही गरी एक लाख ९२ हजार पाँच सय राजस्व संकलन भएको हो । एक महिनाको अवधिमा कारबाहीमा पर्ने सवारी साधनहरूमा सबैभन्दा बढी एक सय ११ वटा जिप रहेको र सोबापत ७५ हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज सञ्जिव चौधारीले बताए ।
त्यस्तै ७६ वटा मोटरसाइकल कारबाहीबाट ५७ हजार पाँच सय, ४५ वटा ट्रकबाट ३० हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै १९ वटा आटो कारबाहीबाट १४ हजार, १७ वटा ट्याक्टरबाट ११ हजार र सातवटा बसबाट चार हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीको भनाइ छ । मंसिर महिनामा कात्तिक महिनाको तुलनामा २० हजार पाँच सय बढी राजस्व र ११ वटा बढी सवारी साधन कारबाहीमा परेको ट्राफिक प्रहरीको भनाइ छ ।
कात्तिक महिनामा दुई सय ६४ सवारी कारबाहीबाट एक लाख ७२ हजार राजस्व संकलन भएको चौधरीको भनाइ छ । कारबाहीमा पर्ने सवारी साधनहरूमा सवारी चालक अनुमतिपत्र नभएका, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी पोसाक नलगाउने तथा प्रयोजनविपरीत सञ्चालित सवारीसाधनहरू रहेको ट्राफिक प्रहरीको भनाइ छ ।