काठमाडौं ।
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार तीन सय ९६ पुगेको छ । तीमध्ये आधाभन्दा बढी अर्थात् दश हजार सात सय सात जना होम आइसोलेसनमा छन् । नौ हजार छ सय ८९ जना संस्थागत आइसोलेसनमा छन् । सक्रिय संक्रमितमध्ये दुई सय १३ जनाको आईसीयूमा र ३४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
सोमबार दिउँसोदेखि मंगलबार दिउँसोसम्मको २४ घण्टाको अवधिमा देशभर आठ जनाको कोरोनाको कारण मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ९३ पुगेको छ । नेपालमा कोरोनाबाट चार सय ९३ जनाको मृत्यु हुँदा कुल संक्रमितको संख्या भने ७६ हजार दुई सय ५८ पुगेको छ ।
नेपालमा मंगलबार मात्रै एक हजार पाँच सय १३ जना कोरोना संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्रै नौ सय ३४ जना थपिएका छन् । यो एक दिनको संक्रमित संख्याको ६१ प्रतिशतभन्दा बढी हो । यो तथ्यांकले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अधिक मात्रामा बढ्दै गएको देखिएको छ । दशैं र तिहारजस्ता चाड आएसँगै काठमाडौंमा भीडभाड बढेको छ । यसले अझै कोरोना संक्रमितको संख्या बढाउने अनुमान गरिएको छ ।
काठमाडौंमा मानिसहरुको भीड बढेसँगै कोरोना संक्रमितको संख्या बढ्नाले जोखिम अझै बढेको छ । १० हजार आठ सय ९१ जनाको नमूना परीक्षण गर्दा एक हजार पाँच सय १३ जनामा कोरोना देखिनुले जनस्वास्थ्यविद्हरु पनि काठमाडौंमा कोरोनाको जोखिम उच्च हुँदै गएको बताउँछन् । ‘चाडबाडको नाममा काठमाडौंमा मानिसको भीड बढेको छ ।
स्वास्थ्यसम्बन्धी न्यूनतम मापदण्ड पालना नगर्ने हो भने काठमाडौंको अवस्था अझै विकराल बन्नसक्छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । तीमध्ये काठमाडौँका तीन सय सात महिला र चार सय ४० पुरुषसहित सात सय ४७, ललितपुरका ४७ महिला र ६७ पुरुषसहित एक सय १४ तथा भक्तपुरका २८ महिला र ४५ पुरुषसहित ७३ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार दुई सय ६४ पुगेको छ । काठमाडौँमा १८ हजार आठ सय ७७, ललितपुरमा दुई हजार तीन सय ४६ तथा भक्तपुरमा दुई हजार ३७ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा एक सय ४९, प्रदेश २ मा ५८, वाग्मतीमा एक हजार २८, गण्डकीमा ३५, प्रदेश ५ मा एक सय ९८, कर्णालीमा १ तथा सुदूरपश्चिम ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश नं. १ को इलाममा १, उदयपुरमा २, ओखलढुङ्गामा १, तेह्रथुममा २, भोजपुरमा १, झापामा ९, मोरङमा एक सय एक तथा सुनसरीमा ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेश २ को धनुषामा १०, पर्सामा २३, बारामा ४, रौतहटमा २६, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ तथा सिरहामा ८ जनामा कोरोना देखिएको छ ।
यसैगरी वाग्मती प्रदेशको काठमाडौँमा सात सय ४७, काभ्रेपलाञ्चोकमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा एक सय १४, सिन्धुपाल्चोकमा १ तथा सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, नवलपरासी पूर्वमा १५ तथा स्याङ्जामा दुई जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
यसैगरी प्रदेश ५ को कपिलवस्तुमा १८, गुल्मीमा २, दाङमा ११, नवलपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रुपन्देहीमा ९५ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिममा १ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ तथा बैतडीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।