राज्य व्यवस्था करले सञ्चालन हुन्छन् यो कुरा अहिले मात्र नभएर प्राचीन इजिप्टमा इसापूर्व ३०००–२८०० देखि प्रमाणित हुँदै आएको हो । त्यसैले गर्दा हाम्रो मुलुक पनि करले सञ्चालन हुँदै आएको छ भन्दा फरक नपार्ला । तर त्यही नागरिकले तिर्ने करबाट सेवाभोग गर्ने गृहमन्त्री रामबहादुर थापाले किशोरीहरू बलात्कृत हुँदा धेरै चिन्ता लिनु नपर्ने बताएका छन् ।
उनको उक्त हल्का अभिव्यक्तिलाई सुशासन कायम गर्न बसेको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति समेत मौन बसेर गृहमन्त्रीलाई साङ्केतिक समर्थन गरेकोे देखिन्छ । जसले गर्दा समितिका सदस्य र प्रहरी महानिरीक्षक शैलश थापाले सहमति जनाउनु भनेको बलात्कृत किशोरीहरूप्रति गैरजिम्मेवारीको पराकाष्ट हो ।
बलात्कृत किशोरीहरू यो देशका नागरिक हुन् । उनीहरूले अप्रत्यक्षरूपमा र उनका पारिवारिक सदस्यहरूले प्रत्यक्षरूपमा मुलुकलाई कर तिरेका छन् भने सोही कर गृहमन्त्रीको पकेटमा गएको छ । यही सत्यतााई बिर्सँदै गृहमन्त्री थापाले किशोरी बलात्कृत हुँदा धेरै चिन्ता लिनु नपर्ने सन्देश दिए भने त्यसलाई सुशासन समिति सदस्यले मौन समर्थन जनाए ।
उक्त अभिव्यक्ति दिइरहँदा उनले अन्तर्राष्ट्रियस्तरमा भएको बलात्कारको घटना तुलना गरेर अभिव्यक्त गरेको उक्त भनाइले समितिको छविमा असर पर्नुको साथै बलात्कारीलाई प्रेरणा मिलेको देखिन्छ । जसले गर्दा गृहमन्त्री थापाले बलात्कृत र उसको पारिवारिक सदस्यहरूको भावनामा चोट पु-याएका छन् ।
उनले अन्तर्राष्ट्रिय जगतलाई होइन आफ्नो समाजको वास्तविकतालाई बेवास्ता गरी समितिमा आफ्ना भनाइ राखे, जुन शत प्रतिशत गलत छ । उनको समिति वा सरकारको पहिलो प्राथमिकता भनेको शत प्रतिशत नेपाल र जुनसकै स्थानका नेपाली जनताको लागि हुनुपर्छ ।
केही दिनअघि बझाङकी १२ वर्षीया सम्झाना कामी र सप्तरीकी १७ वर्षीया संगीता मण्डलको सामूहिक बालत्कारपछि आत्महत्या तथा मुलुकमा दिनमा औसत सात जना बलात्कृत भइरहेको समयमा गृहमन्त्रीको उक्त अभिव्यक्ति समितिमा सार्वजनिक गरेका हुन् । अब यसरी किशोरीहरू बलात्कृत हुँदा सवा दुई सय देशहरूको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति नभएको बताउने गहृमन्त्रीले किशोरीहरू बलात्कृत हुन्छन् चिन्ता गर्नु पर्दैन भन्न खोजेका हुन् ? स्वयंले राजीनामा र नागरिकलाई प्रश्न दिएका छन् । राजीनामा दिन्छन्÷दिँदैनन् उनको नैतिकता हो यदि सो भनाइलाई गल्ती मान्दै राजीनामा दिएमा उनको व्यक्तित्वमा कमी आउने छैन ।
उनी दक्षिण अफ्रिका र अमेरिकामा पनि यस्तो घटना घट्छ भन्दै नेपालमा बलात्कारी घटना घट्नु सामान्य भएको हो भन्छन् । यदि गृहमन्त्रीले यस्तो जघन्य अपराध रोक्न हामी हरसम्भव कोसिस गर्नेछौँ र अगामी दिनमा यस्तो घटना घट्दैन भनेको भए जनताले कस्तो अनुभव गर्थे उक्त विषय भने उनले जान्नु आवश्यकता छ ।