काठमाडौं ।
वाणिज्य बैंकहरुले सात सय ४७ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी २०७७ को पहिलो महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या छ मात्र रहेको छ ।
राष्ट्र बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय ५३ पुगेको छ । सो अनुुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी २० वटा विकास बैंक, २१ वटा फाइनान्स कम्पनी, ८४ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।
राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७७ साउन मसान्तसम्म कुुल एक सय ९८ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ५१ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४७ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने नौ हजार आठ सय १३ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार चार सय ९० वटा, विकास बैंकहरुको एक हजार नौ वटा, फाइनान्स कम्पनीहरुको दुई सय ४४ वटा र लघुवित्त वित्तीय संस्थाहरुको चार हजार ७० वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७७ को असार मसान्तसम्ममा प्रदेश नम्बर एकमा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश नम्बर दुईमा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ । वाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह रहेकोमा एक सय १७ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ ।
प्रदेश नम्बर पाँचमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । सुदूर पश्चिम प्रदेशमा भने ८८ स्थानीय तह रहेकोमा ८६ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेका छन् ।