काठमाडौं ।
माछापुुच्छ्रे बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले आगामी कात्तिक छ गते पोखराको होटल ग्राण्डमा २२औं वार्षिक साधारणसभा गर्न लागेको हो । बैंकका अनुसार उक्त साधारण सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीको सात दशमलव तीन प्रतिशत अर्थात् ५९ करोड ४६ लाख १६ हजार नौ सय ३१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गर्नेछ ।
यसबाहेक सभाले गत आर्थिक वर्षको वित्तीय विवरण एवं जारी पुँजी वृद्धि गर्ने प्रस्तावसमेत पारित गर्ने छ । बैंैकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब २५ करोड २० लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६९ करोड ७० लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ४५ करोड ८४ लाख ७७ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ८६ करोड १८ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ३६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ९० करोड ८२ लाख ७८ हजार रुपैयाँ मात्र रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ८५ अर्ब १९ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब नौ करोड ५७ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५४ करोड ९७ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २७ प्रतिशत रहेको थियो ।