काठमाडौं ।
सहारा विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले दिएको जानकारी अनुसार गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्नको लागि सम्झौता गरेपछि आइतबारदेखि सहराको सेयर कारोबार रोक्का गरिएको हो ।
मर्जर तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ अनुसार सेयर कारोबार रोक्का राख्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार सहाराको सेयर कारोबार रोक्का गरिएको र प्राप्ति प्रक्रिया टुुंगोमा पुगेपछि सेयर कारोबार खुला गर्ने जानकारी नेप्सेले दिएको छ ।
सहाराले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड २५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार नौ सय ३० रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ८५ करोड ३८ लाख ७६ हजार रुपैयाँ निक्षेप संंकलन गरी ७२ करोड ५१ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ८२ लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले ७८ करोड ८२ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी ६४ करोड ४९ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ४५ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।