काठमाडौं ।
वैदेशिक रोजगार कार्यालय, ताहचलले सोमबारदेखि आफ्नो सेवा अर्थात् श्रम स्वीकृति प्रदान गर्ने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड संक्रमण देखिएसँगै गत बुधबारदेखि श्रम स्वीकृतलगायतका सम्पूर्ण सेवा बन्द गरेको थियो । कार्यालयले भिसाको अवधि सकिनलागेको तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीहरूको समस्यालाई मध्यनजर राखी सोमबारबाट सावधानीपूर्वक सीमित सेवा सञ्चालन गरेको जनाएको छ ।
कार्यालयले सेवाग्राहीहरूले सामाजिक दूरीका साथै स्वास्थ्यसम्न्धी सुरक्षाका अन्य मापदण्ड (एसएमएस)को पालना अनिवार्यरूपमा गरी सहयोग गर्नु आग्रह गरेको छ । सेवाग्राहीलाई सामाजिक दूरी कायम गर्न कार्यालय परिसरमा लगाइएको गोलो चिह्नमा रहेर मात्र सेवा लिन र सोपूर्व साबनुपानीले हात धुन अनिवार्य गरिएको छ ।
सेवा दिने क्रममा कार्यालयले असोज महिनाको दोस्रो साताको अवधिमा वैदेशिक रोजगारीमा जाने दुई हजार नौ सय २७ जना पुरुष र एक सय ८९ महिला गरी कुल तीन हजार एक सय १६ जना युवालाई श्रम स्वीकृति प्रदान गरेको छ । ४६ वटा मुलुकमा जानका लागि उक्त युवाहरूले श्रम स्वीकृति लिएका हुन् । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने वातावरण नभए पनि मुलुकमा रोजगारी नहुदाँ युवाहरू विदेशिने गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको असोज पहिलो सातामा सम्ममा मुलुकभरबाट पाँच हजार तीन सय २३ जनाले पुनः श्रम स्वीकृति, एक सय ९४ जनाले नयाँ श्रम स्वीकृति (व्यक्तिगत र संस्थागत) र दुई सय ३८ वटा संस्था वैधानीकरण गरिएको तथा असोज पहिलो साताबाट दोस्रो सातको अवधिमा भने मुलुकभरबाट एक हजार चार सय ५३ जनाले पुनः श्रम स्वीकृति, एक सय ४२ जनाले नयाँ श्रम स्वीकृति (व्यक्तिगत र संस्थागत) र ४८ वटा संस्था वैधानीकरण गरिएको जानकारी दिएको छ ।
त्यसैगरी मन्त्रालयले असोजको पहिलो सातासम्ममा एक लाख ३९ हजार ६ सय विदेशबाट उद्धारको लागि निवेदन परेको तथा ६७ हजार तीन सय जनालाई उद्धार गरिएको जनाएको छ । यसरी मन्त्रालयले श्रम स्वीकृति तथा उद्धारलगायतका कामकारबाहीलाई अघि बढाउँदै आएको पाइन्छ ।