टोक्यो ।
जापानको चर्चित फेसन ब्रान्ड केन्जोका संस्थापक केन्जो टाकाडाको कोरोना संक्रमणका कारण ८१ वर्षको उमेरमा मृत्यु भएको छ । बीबीसीका अनुसार फ्रान्सको राजधानी पेरिसस्थित अमेरिकन हस्पिटलमा केन्जोको मृत्यु भएको हो ।
उनी ब्राइट ग्राफिक्स, जंगल प्रेरित प्रिन्ट तथा विविध स्रोतको सम्मिश्रणका लागि उनी चर्चित थिए । पेरिस फेसन सिनमा विख्याति पाउने उनी पहिलो जापानी डिजाइनर पनि हुन् । उनी सन् १९६० पछि फ्रान्समै बस्नथालेका थिए । उनका प्रवक्ताका अनुसार झण्डै ८ हजार डिजाइन गरेका उनले फेसनलाई औधी रुचाउँथे ।
पेरिसका मेयर एन्ना हिडाल्गोले ट्विटरमार्फत उनको मृत्युले एक उत्कृष्ट प्रतिभा गुमाएको बताएकी छिन् । केन्जोले फेसनलाई रंग र प्रकाश दिएको उनले बताएकी छिन् । उनको मृत्युमा फेसन क्षेत्रका धेरैले दुःख व्यक्त गरेको बताइएको छ । त्यस्तै जापानी नागरिकहरुले पनि ट्विटरमा पोस्ट गर्दै उनको मृत्युप्रति दुःखद प्रतिक्रिया जनाएका छन् ।
केन्जो सन् १९३९ मा जापानी सहर ओसाका नजिकै हिमेजीमा जन्मिएका थिए । उनले सुरुतिर फेसन हाउसलाई स्केचहरु बिक्री गर्थे । तर पछि पछि उनी आफैँले जंगल ज्याप नामक सानो स्टोरबाट बिक्री गर्नथाले । केही समयअघि मात्रै उनले साउथ चाइना मर्निङ पोस्टसँग कुराकानीमा थोरै पैसाले स्टोर सजाएको बताएका थिए । त्यही कुराकानी उनको अन्तिम मिडिया अन्तर्वार्ता बनेको छ ।