महेन्द्र शाही
सोलुखुम्बु ।
चालू आर्थिक वर्ष २०७७–०७८ मा सोलुखुम्बुका ५६ वटा विद्यालय भवन निर्माण हुने भएका छन् । जिल्लाका आठवटा स्थानीय तहमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत उक्त विद्यालय भवनहरू निर्माण हुने भएका हुन् । निर्माण गरिने विद्यालय भवनहरूमा सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिकाका र थुलुङ दुधकोसी गाउँपालिकामा ११–११ वटा रहेको जिल्ला आयोजना कार्यान्वय एकाइ (शिक्षा) सोलुखुम्बुका प्रमुख प्रेम खरेलले जानकारी दिए ।
त्यस्तै नेचासल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकामा सात–सातवटा विद्यालय भवन निर्माण हुने खरेलको बताए । त्यस्तै चालू आर्थिक वर्षमा माप्य दुधकोसी गाउँपालिमा छवटा, लिखुपिके गाउँपालिकामा चार र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा तीनवटा विद्यालय भवन निर्माण हुने जनाइएको छ ।
यसैबीच जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले चालू आर्थिक वर्षमा ३८ वटा शौचालय र ३३ वटा खानेपानी समेत निर्माण हुने कार्यालयले जनाएको छ । आर्थिक वर्षभित्र सक्ने गरी अहिले यी आयोजनाको निर्माण सुरु हुने चरणमा रहेको कार्यालय प्रमुख खरेलले बताए । विद्यालय, शौचालय र खानेपानी आयोजनामा गरी ४० करोड ८३ लाखको बजेट खर्च हुने खरेको भनाइ छ । जिल्लाका सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकामा छ–छवटा शौचालय निर्माण हुने जनाइएको छ । त्यस्तै नेचासल्यान, माप्य र सोताङ गाउँपालिकामा पाँच–पाँचवटा शौचालय निर्माण हुनेछन् ।
महाकुलुङ र लिखुपिके गाउँपालिकामा चार–चारवटा तथा खुम्बु पासाङ ल्हामु गाउँपालिकामा तीनवटा शौचालय निर्माण गरिने प्रमुख प्रेम खरेलले जानकारी दिए । आयोजनामार्फत सञ्चालन हुने खानेपानी आयोजनामा थुलुङ दुधकोसी गाउँपालिकामा सातवटा, सोलु दुधकुण्ड नगरपालिकामा छवटा र नेचा सल्यान गाउँपालिकामा पाँचवटा खानेपानी आयोजना निर्माण गरिनेछ । त्यस्तै महाकुलुङ, लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा तीन–तीनवटा तथा सोताङ गाउँपालिकामा चारवटा र माप्य दुधकोशी गाउँपालिकामा दुईवटा आयोजना निर्माण हुने प्रमुख खरेलको भनाइ छ ।
यसैबीच जिल्ला कार्यान्वयन एकाइमार्फत गत आर्थिक वर्षमा सञ्चालन भएका २२ वटा विद्यालय भवन अन्तिम चरणमा पुगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख प्रेम खरेलले बताए । त्यस्तै २४ वटा शौचालय पनि अहिले निर्माण सम्पन्न हुने चरणमा रहेको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा नै सम्पन्न गर्ने योजना भए पनि कोरोनाका कारण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ ।