काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२० को सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । बोर्डले मंगलबार विज्ञप्ति जारी गर्दै संस्थाले अक्टोबर ५–११, २०२० तदनुसार २०७७ आश्विन १९–२५ को अवधिमा विश्व लगानीकर्ता सप्ताह मनाउन आह्वान गरिएकोले बोर्डले उक्त सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ ।
नेपाल धितोपत्र बोर्ड सन् २०१६ जुलाइमा धितोपत्र बजार नियमन निकायहरूको अन्तर्राष्ट्रिय संस्थाको एसोसिएट सदस्य भएपश्चात् उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा बोर्डको सहभागिता रहँदै आएको छ । यस सन्दर्भमा सन् २०१७ देखि उक्त संस्थाले सुरुवात गरेको विश्व लगानीकर्ता सप्ताह सञ्चालनमा बोर्ड सहभागी भई लगानीकर्ताको ज्ञान अभिवृद्धिका तथा सबलीकरण लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको बोर्डले जानकारी दिएको छ ।
यसवर्ष समेत उक्त संस्थाबाट अक्टोवर ५–११, २०२० तदनुसार २०७७ आश्विन १९–२५ को अवधिमा विश्व लगानीकर्ता सप्ताह मनाउन आह्वान गरिएकोले बोर्डले उक्त सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ । उक्त सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरू सर्वसाधारणमा प्रवाहको माध्यमबाट बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने रहेको छ
बोर्डले विगतदेखि नै नियमितरूपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । धितोपत्र बजार समेत क्रमशः देशव्यापी हुँदै गएको र लगानीकर्ताहरूको संख्यामा समेत अभिवृद्धि हुँदै गएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरूलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको बारेमा आधारभूत शिक्षा प्रदान गरी लगानीका सम्बन्धमा सुसूचित निर्णय लिन सक्षम तुल्याउने, धितोपत्र बजारको बारेमा जानकारी दिई सर्वसाधारणलाई बजार प्रवेशमा थप प्रोत्साहन गर्ने, साथै वास्तविक क्षेत्रलगायतका संगठित संस्थाहरूलाई धितोपत्र बजारबाट पुँजी परिचालन गर्न अभिमुखीकरण तथा अभिप्रेरित गर्ने प्रमुख उद्देश्यका साथ बोर्डबाट यो कार्यक्रम विशेषरूपमा सञ्चालन गरिने जानकारी पनि बोर्डले दिएको छ ।