काठमाडौं ।
यस साता सेयर बजार परिसूचक १५ सय ८९ दशमलव ६३ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय १४ दशमलव ७४ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ९५ वटा कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार दुई लाख १८ हजार सात सय ६६ पटकको कारोबारमा पाँच करोड ४० लाख ४५ हजार चार सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १४ अर्ब ५३ करोड १६ लाख १० हजार चार सय एक रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा एक सय ९८ वटा कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार एक लाख ८९ हजार नौ सय ५१ पटकको कारोबारमा पाँच करोड २२ लाख २५ हजार तीन सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ४१ करोड ९६ लाख १५ हजार छ सय ८५ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुल्ला रहेको थियो । सोमध्ये दोस्रो र अन्तिम कारोबार दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिन उकालो लागेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक १४ दशमलव ७१ अंकले उकालो लागेर १५ सय ८५ दशमलव ७५ अंकमा चढेको थियो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले उकालो लागेर तीन सय १२ दशमलव ३५ अंकमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक तीन दशमलव ६३ अंकले ओरालो लागेर १५ सय ८२ दशमलव १२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ११ अंकले ओरालो लागेर तीन सय १२ दशमलव ४६ अंकमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक चार दशमलव १७ अंकले उकालो लागेर १५ सय ८६ दशमलव २९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७६ अंकले उकालो लागेर तीन सय १३ दशमलव १२ अंकमा चढेको छ ।
चौथो दिन पनि बजार परिसूचक १४ दशमलव ६८ अंकले उकालो लागेर १६ सय दशमलव ९७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंकले उकालो लागेर तीन सय १६ दशमलव ३९ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक ११ दशमलव ३४ अंकले ओरालो लागेर १५ सय ८९ दशमलव ६३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६५ अंकले ओरालो लागेर तीन सय १४ दशमलव ७४ अंकमा झरेको थियो ।
यस साता अपी पावर लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, सोल्टी होटल लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आदिको बढी रकम कारोबार भएका छन् । कारोबार भएको सेयर संख्याका आधारमा भने यस साता सोल्टी अपी पावर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यो साता एनएमबी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएका छन् ।