काठमाडौं ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । ग्लोबलले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विषयमा सम्झौता गरेको हो । सम्झौतामा ग्लोबल आईएमईका तर्फबाट संस्थाका अध्यक्ष बुद्धि अकेला र स्पर्शका तर्फबाट अध्यक्ष प्राडा सुशील भक्त माथेमाले हस्ताक्षर गरेका छन् ।
प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गर्नको लागि संस्थाको यही असोज २० गते मंगलबार बसेको सञ्चालक समितिको एक सय १८औँ बैठकले गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २६ विजयपुर अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्था लि.बाट प्राप्ति (एक्विजिसन) गर्नका लागि प्रस्ताव आएको थियो ।
सो प्रस्तावअनुसार उक्त संस्था प्राप्ति गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गई व्यवसाय कारोबार वृद्धि गर्न सकिने, ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथ स्तरीय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भई संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने देखिएको संस्थाले जानकारी दिएको छ ।
सोही विश्लेषणका आधारमा गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय भई सोही दिन प्राप्तिसम्बन्धी सहमतिमा हस्ताक्षर भएको जानकारी संस्थाले दिएको छ । प्राप्तिसम्बन्धी प्रक्रियाको लागि स्पर्शको कारोबार असोज २१ गते बुधबारबाट रोक्का राखिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।