काठमाडौं ।
अमेरिकी डलर ५० हजारभन्दा बढीको सामान तथा सवारीसाधन पैठारीको लागि विदेशी मुद्राको सटही सुविधा नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार नेपाल राष्ट्र बैंकको प्रदेशस्थित सम्पूर्ण प्रादेशिक कार्यालयहरु, वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरु समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि निर्देशन दिएको हो ।
एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दे निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अन्तर्गत सरकारले समय–समयमा निकासी पैठारी गर्न पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुुहरु सोहीबमोजिम हुुने छ । साथै नधुल्याइएको मरिच, सुपारी, केराउ, छोकडा र अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यका सवारीसाधनहरुको पैठारी अर्को व्यवस्था नभएसम्मको लागि पूर्णरुपमा बन्देज लगाइएको हुुँदा सोको लागि विदेशी मुद्राको सटही सुविधा प्राप्त हुुनेछैन, परिपत्रमा भनिएको छ ।
तर भन्सार उपशीर्षक ०९०.११ को नधुुल्याएको मरिचअन्र्तगत औद्योगिक कच्चा पदार्थको रुपमा आवश्यक पर्ने मरिच सम्बन्धित उद्योगको उत्पादन क्षमता र खपतको प्रवृत्तिको आधारमा उद्योग विभागले प्रमाणित गरेको परिमाणबमोजिम सम्बन्धित उद्योग आफैँले आयात गर्ने प्रयोजनको लागि र विदेशी कूटनीतिक नियोग, कूटनीतिक सुविधाप्राप्त अन्तर्राष्ट्रिय संघ/संस्था र सोमा कार्यरत कूटनीतिक सुविधाप्राप्त विदेशी कर्मचारीले निजी प्रयोगको लागि ल्याउने ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधन पैठारी गर्ने प्रयोजनको लागि भने विदेशी मुद्राको सटही सुविधा प्रदान गरिनेछ, परिपत्रमा भनिएको छ ।