नयाँ दिल्ली, असोज २८
घरेलु हवाइ यात्रुहरुको संख्या सेप्टेम्बरमा ३९ लाख ४३ हजार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्षको तुलनामा यो ६६ प्रतिशतले कम हो । नियामक निकाय डीजीसीएले बुधबार उक्त जानकारी दिएको नवभारत टाइम्सले जनाएको छ । यो वर्ष जुलाईमा २१ लाख तथा अगस्टमा २८ लाख मानिसले भारतभित्र हवाइ यात्रा गरेका थिए ।
उक्त अवधिमा इन्डिगो एयरलाइन्सबाट मात्रै करिब २२ लाख ६६ हजार यात्रुले यात्रा गरेका छन् भने कम्पनीको बजार हिस्सा ५७.५ प्रतिशत रहेको छ । सोही अवधिमा स्पाइसजेटबाट ५ लाख ३० हजार यात्रुले यात्रा गरेका छन् । स्पाइस जेटको बजार हिस्सा १३.४ प्रतिशत रहेको छ । डीजीसीएको तथ्यांकअनुसार सेप्टेम्बरमा एयर इन्डिया, एयर एसिया इन्डिया, विस्तारा र गोएयरबाट क्रमशः ३ लाख ७२ हजार, २ लाख ३५ हजार, २ लाख ५८ हजार र २ लाख ६४ हजार यात्रुले यात्रा गरेका थिए । माग बढ्दै
भारतको छ प्रमुख विमान कम्पनीहरुको कुल उपलब्ध सिटहरुको तुलनामा यात्रु दर ५७ देखि ७३ प्रतिशतको बीचमा रहेको छ । डीजीसीएका अनुसार लकडाउनपछि उडान सेवा पुनः सुचारु हुनथालेपछि माग भने बढिरहेको बताएको छ । सेप्टेम्बर महिनामा कम्पनीहरुको सिट भरिँदै गएको छ । यो अवधिमा स्पाइसजेटले ७३ प्रतिशत सिट भर्न सफल भएको छ भने विस्तारा, इन्डिगो, एयरएसिया इन्डिया, एयर इन्डिया र गोएयरको सिट भरिने दर क्रमशः ६६.७, ६५.४, ५८.४, ५७.९ र ५७.६ प्रतिशत रहेको छ ।
डीजीसीएका अनुसार बेंगलोर, दिल्ली, हैदरावाद र मुम्बई जस्ता चार प्रमुख हवाइ अड्डामा एयरएसिया इन्डियाको सबैभन्दा धेरै उडान भएको छ । भारतमा कोरोना भाइरस संक्रमण रोक्नका लागि मार्च २४ देखि लकडाउन लगाइएको थियो । सो क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा रोक लगाइएको थियो । करिब दुई महिनाको अन्तरालमा २५ मेदेखि आन्तरिक उडानलाई अनुमति दिइएको थियो । त्यस्तै लकडाउनकै दौडान प्रवासी भारतीय मजदुरलाई स्वदेश ल्याउन वन्दे भारत मिसनअन्तर्गत अन्तर्राष्ट्रिय उडानको परिचालन गरिएको थियो ।