काठमाडौं ।
नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष बाबुराम श्रेष्ठको निधन भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको रूपमा २०६८।०६।३० देखि २०७२।०६।२९ सम्म बोर्डको नेतृत्व गरेका पूर्वअध्यक्ष श्रेष्ठको यही कात्तिक एक गते शनिबार असामायिक निधन भएको बोर्डले जानकारी दिएको छ ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै बोर्डले श्रेष्ठको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न आइतबार शोकसभा आयोजना गरेको छ । उक्त शोकसभामा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालगायत सम्पूर्ण कर्मचारीहरूले स्वर्गीय श्रेष्ठको तस्बिरमा माल्यार्पण गर्नुका साथै उनको सम्झनामा दुई मिनेट मौनधारण गरिएको बोर्डले जनाएको छ ।
स्वर्गीय श्रेष्ठको चारवर्षे कार्यकालमा केन्द्रीय निक्षेप कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेडमार्फत सूचीकृत कम्पनीहरूको धितोपत्रहरूको अभौतिकीकरण गर्ने कार्य प्रारम्भ भएको थियो । त्यसैगरी, सूचिकृत कम्पनी तथा पब्लिक कम्पनीहरूले सार्वजनिक निष्कासन गर्ने धितोपत्रहरूको रेटिङ गरी लगानीकर्ताहरूलाई कम्पनीहरूको जोखिम तथा सम्भावनाहरूको बारेमा जानकारी दिई सुसूचित निर्णय लिन सहयोग पु-याउने उद्देश्यले साख मूल्यांकन कम्पनीलाई सञ्चालन अनुमति दिने कार्य भएको थियो ।
यसका साथै धितोपत्र बजारका लगानीकर्ताहरूको समस्या, गुनासा, सल्लाह र सुझाव पेस गर्ने कार्यलाई सहजीकरण गर्न बोर्डमा हटलाइन फोनको व्यवस्था गर्ने र बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक जनशक्ति पूर्ति गर्नेसम्बन्धी प्रक्रिया अगाडि बढाउनेजस्ता महत्वपूर्ण कार्यहरूलगायत पुँजीबजारमा विभिन्न सुधारका कामहरू सम्पन्न गरी सफलतापूर्वक कार्यकाल पूरा गरेका थिए । आजको यस दुःखद समयमा नेपालको पुँजीबजारले एक योग्य व्यक्तित्व गुमाएको र नेपाली पुँजीबजारको लागि अपूर्णीय क्षति भएको बोर्डले जनाएको छ ।