लन्डन ।
भिसा र मास्टरकार्डले कोरोना महामारीमा बलजफ्ती शुल्क लिएको आरोप लागेको छ । बेलायती खुद्रा व्यावसायिक समूहहरुले भुक्तानी सेवा प्रदायक फर्महरुले दुई वर्षयता झण्डै दोब्बर शुल्क स्किम फिअन्तर्गत असुलेको आरोप लगाएका हुन् । भुक्तानी सेवा प्रदायक कम्पनीले बढी शुल्क लिए त्यसको मार उपभोक्तालाई पर्ने पनि उनीहरुले चेतावनी दिएका छन् । यसबाट क्रेडिट कार्डको बिल वर्षमा ४० पाउन्ड स्टर्लिङका दरले बढोत्तरी हुने उनीहरुको भनाइ छ । बीआरसीका एन्ड्र्यु क्रेगनले सरकारले ती कम्पनीको असुली रोक्न ठोस कदम चाल्नुपर्ने माग गरे ।
ब्रिटिश रिटेल कन्सोर्टियम (बीआरसी)का फाइनान्स पोलिसी (वित्त लगानी) प्रमुख क्रेगनले यदि यही दरमा ऊर्जा वा दूरसञ्चार सेवा प्रदायकले शुल्क वृद्धि गरेको भए बाहिर धेरै हल्ला भइसक्ने भए पनि यी कम्पनीको बलजफ्ती असुलीमा कसैको ध्यान नपुगेको बताए । कम्पनीको शुल्क असुलीलाई उनले बजारमा पकड छ भनेर गरेको मनोमालिन्य दुरुपयोगको संज्ञा दिए । यी दुवै कम्पनी विश्वकै धेरै नाफा कमाउनेमा गनिन्छन् । उक्त समूहहरुले कम्पिटिसन एन्ड मार्केट्स अथोरिटी (सीएमए)ले कार्ड स्किमबारे अनुसन्धान गर्न माग गरेका छन् ।