काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्च सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्वारा स्थापित ‘कोष’मा चालू आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गरेकी छिन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चबापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत बुधबार जानकारी दिए । त्यस्तै उपराष्ट्रपति पुनले पनि चाडपर्व खर्चबापत आफूलाई प्राप्त रकम ‘कोष’मा प्रदान गरेका छन् ।
उनले चालू आर्थिक वर्षका लागि प्राप्त चाडपर्व खर्च रकम कोषमा प्रदान गरेको उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसकेका छन् ।