महेन्द्र शाही
सोलुखुम्बु, पुस १४
नियमको ध्वज्जी उडाउँदै सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र हेलिकप्टर उडान तथा अवतरण गरिरहेका हेलिकप्टर कम्पनीहरूले राजस्व तिर्नसमेत आलटाल गर्ने गरेको पाइएको छ । निकुञ्ज क्षेत्रमा उडान गर्ने हेलिकप्टरले प्रतिउडान तीन हजार रूपैयाँको दरले रोयल्टी बुझाउनुपर्ने व्यवस्था भए पनि कम्पनीहरूले आफूखुशी उडान भर्दै राजस्व तिर्न आलटाल गरेको निकुञ्जको कार्यलयले जनाएको छ । विश्व सम्पदा सूचीमा समेत सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलिकप्टरको मनोमानी विकृतिको रूपमा देखिएको छ ।
पर्यटकीय सिजनमा दैनिक ५० भन्दा बढी पटक खुम्बुको माथिल्लो क्षेत्रमा हेलिकोप्टर अवतरण हुने गरेको कार्यलयको तथ्यांकमा उल्लेख छ । कहाँ, कुन स्थानमा अवतरण गर्न पाउने, कति उचाइभन्दा मुनि उड्न नपाउने र उडानको बाटो तय नभएकाले निकुन्जमा संरक्षित वन्यजन्तु आतंकित बन्ने गरेको सगरमाथा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृति भूमिराज उपाध्यको भनाइ छ ।
जिल्लाको तल्लो भेगबाट प्रशासनलाई जानकारी नै नगराई उडान हुँदै आएको छ भने राष्ट्रिय निकुञ्जसँग समेत समन्वय नगरी मनोमानी ढङ्गले उडान हुँदा चोरी सिकारी तथा अवैध वस्तुहरूको ओसारपोसार हुन सक्ने आशंका पैदा भएको छ । यस विषयमा आफ्नो ध्यानार्कषण भएकाले २४ घण्टाभित्र छलफल गरी समाधान खोजिने प्रमुख सरंक्षण अधिकृत उपाध्यले बताए । राष्ट्रिय निकुन्जमा जथाभावि उडान नर्गन वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय निकाय यूनेस्कोले सचेत गराइसकेको छ ।