बाँके ।
बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (ज्येष्ठ नागरिक) भत्ता नागरिकहरुको घरघरमै पुगेर वितरण गर्न सुरु गरेको छ । नयाँ आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकअन्तर्गत साउनदेखि कात्तिकसम्मको भत्ता वितरण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए । गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि भत्ता वितरण सुरु गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं. २ का ज्येष्ठ नागरिक बदलु शर्मालाई रकम हस्तान्तरण गर्दै सामाजिक भत्ता वितरण सुरु गरेका हुन् ।
गाउँपालिकाले विगतदेखि नै ज्येष्ठ नागरिकको सम्मान गर्दै घर–घरमा पुगेर रकम वितरण गर्दै आएको बताए । अध्यक्ष चौधरीले आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको भन्दै ज्येष्ठ नागरिकको पूर्ण रुपमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेको जानकारी दिए ।
प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए । उनका अनुसार गाउँपालिकाको ६ वटै वडामा ज्येष्ठ नागरिक, बालबालिका, दलित, अपांग, एकल महिला गरी तीन हजार नौ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई प्रतिमहिना तीन हजार, ६० वर्ष पुगेका ज्येष्ठ नागरिक दलित, ६० वर्ष पुगेका ज्येष्ठ नागरिक एकल महिलालाई प्रति महिना दुई हजार, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना तीन हजार, अपांगता भएका व्यक्ति (ख) वर्गलाई प्रतिमहिना एक हजार ६ सय, जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना चार सय रुपैयाँका दरले रकम वितरण गरिने वडा सचिव शिवपाल मौर्यले बताए ।
यसैगरी, अपांगता भएका व्यक्ति (ग) वर्गलाई प्रतिमहिना पाँच सय र (घ) वर्गलाई चार सय रुपैयाँ प्रतिमहिनाका दरले आफ्नै स्रोतबाट वितरण गरिरहेको उनले बताए । कोरोना संक्रमणको महामारीका बेला कर्मचारीहरुले स्वास्थ्य सुरक्षा र भौतिक दूरी कायम गरि घरदैलो अभियानअन्तर्गत रकम वितरण भइरहेको उपाध्यायले बताए ।