काठमाडौं ।
कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोन लोन नामक नयाँ कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोन लोन सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
कुमारी बैंकमा विभिन्न तलब खाता सञ्चालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम एक लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट फोन लोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहनेछैन भने कुनै निवेदन दिन र कानुनी कागजात पेस गर्नुुपर्नेछैन । ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोन लोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटलमैत्री बनाउँदै लगिने विश्वास दिलाएको छ ।
बैकले हाल आफ्नो देशव्यापीरुपमा फैलिएको एक सय ८४ वटा शाखा–सञ्जाल, एक सय ४४ वटा एटीएम, २१ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।