जिएम यादव
बाँके ।
बाँकेको खजुरामा स्वास्थ्य तथा जनसंख्या मनत्रालयको सहयोगमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरालाई स्वास्थ्यको हब बनाउन गरिएको प्रयासमा सरकारले सहयोग गरेको जानकारी दिँदै तत्काल १५ श्ययाको अस्पताल निर्माणका लागि योजना अघि बढेको बताए ।
खजुरा ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पतालका रूपमा विकास गर्न आइतबारबाट स्थलगत सर्भे सुरु गरिएको हो । सरकारले मुलुकभरका सात सय ५३ स्थानीय तहमध्ये एक सय २२ तहका प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पतालका रूपमा स्तरोन्नति गर्न बजेट विनियोजन गर्न गत भदौ २४ गते मन्त्रीस्तरीय निर्णय भएको थियो ।
त्यस क्रममा बाँकेमा खजुरा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र छनोटमा परेको हो । ‘त्यसका लागि १८ करोड छ लाख ८२ हजारबराबरको लागत स्टीमेट तयार भएको छ,’ आइतबारदेखि स्थलगत सर्भेका लागि प्राविधिक टोलीले काम सुरु गरिसकेको जानकारी दिँदै अध्यक्ष कक्षपतिले भने, ‘दुई हजार नौ सय ६२ स्क्वायर फिट क्षेत्रफलमा बनिरहेको अस्पतालमा जिल्ला अस्पतालसरहको सेवा सुविधा हुनेछ ।’ बहुवर्षीय योजनाका रूपमा सुरु भएको अस्पताल निर्माण कार्यका लागि यस वर्ष तीन करोड २३ लाखभन्दा बढी बजेट विनियोजन भइसकेको अध्यक्ष कक्षपतिले जानकारी दिए ।