नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २ सय ३० जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ९६ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७ सय ९८ व्यक्ति संक्रमणमुक्त भएका छन् ।
कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ । गत २४ घण्टामा भारतमा ५३ हजार २८५ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । भारतभरी हाल पाँच लाख ६१ हजार ९ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबभन्दा प्रभावित राज्यको रुपमा रहेको छ ।