काठमाडौँ ।
कुमारी बैंक लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ का लागि आफ्ना सेयरधनीहरूलाई बोनस सेयर र नगद समेत गरी उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको पछिल्लो पटक बसेको सञ्चालक समितिको ७८औं बैठकबाट आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर तथा चार प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ । विगत २० वर्षदेखि आफ्ना देशव्यापी शाखा सञ्जाल, एटीएम, विस्तारित काउन्टरलगायत शाखारहित बैंकिङ एकाइहरूमार्फत अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको बैंकको निक्षेप एक खर्ब २२ अर्ब र कर्जा लगानी एक खर्ब १५ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब २२ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २३ करोड तीन लाख ७८ हजार रुपैयाँ रहेको थियो ।