काठमाडौँ ।
प्रभु बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बंैकका अनुसार सोमबार गण्डकी प्रदेशका प्रदेश सभासद कृष्णबहादुर थापाले एक समारोहका बीच उक्त एक्स्टेन्सन काउन्टरको समुद्घाटन गरेका हुुन् ।
हस्पिटलमा सञ्चालित एक्स्टेन्सन काउन्टरबाट बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा हस्पिटलमा आउने सम्पूर्ण सेवाग्राहीहरूलाई बैंकिङ सेवा उपलब्ध हुने बैंकले जानकारी दिएको छ । उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरूले बुझाउनुपर्ने जुनसुकै रकम बिनाझन्झट सरल एवं सहजरूपमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा जम्मा गर्न पाउने छन् ।
एक्सटेन्सन काउन्टर सञ्चालनपश्चात् हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरूलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरूको सेवामा समेत उल्लेख्य योगदान पु-याउने प्रण समेत गरेको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय १० वटा शाखा कार्यालय, एक सय ९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।