म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा बीउ संकलन र भण्डारण केन्द्र स्थापना भएको छ । गाउँपालिका र किसानको संयुक्त लगानीमा रायो सागको बीउ संकलन र भण्डारण केन्द्र स्थापना भएको हो । केन्द्र स्थापना भएपछि घर–घरमै गएर बीउ संकलन र व्यक्तिका घरमा भण्डारण गर्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका सचिव अर्जुन पुर्जाले बताए ।
उनका अनुसार गाउँपालिकाको आठ लाख ८१ हजार पाँच सय ४६ रुपैयाँ, उपभोक्ताको पाँच लाख रुपैयाँबराबरको श्रमदान र गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा पाउने सुविधावापतको रकम संकलन गरेर बनाएको कोषबाट ५० हजार रुपैयाँ गरी कुल १४ लाख ३१ हजार पाँच सय ४६ रुपैयाँ लागतमा सो केन्द्र स्थापना भएका छन् । ५७ घरधुरीले १३ दिनका दरले श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष खमबहादुर पुर्जाले बताए ।
स्तरोन्नति गरेर कोल्डस्टोरसमेत बनाउन सकिने यो भवन बहुप्रयोजन र बहुउद्देश्यीय किसिमको भएको गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले बताए । किसानहरूले बीउ, तरकारी र आलु संकलन तथा भण्डारणका अतिरिक्त सीपमूलक तालिम, बैठक, भेला सञ्चालनमा पनि यो भवनलाई प्रयोग गर्न सक्नेछन् । व्यावसायिकरूपमा आलुखेतीको प्रशस्त सम्भावना भएको फलातेका साथै चित्रे, खिवाङ, कुटुका र महभीर गाउँका किसानले व्यावसायिकरूपमै मार्फा रायो जातको सागको बीउ उत्पादन गर्छन् ।