काठमाडौं ।
नेपालमा खानेपानी समितिहरूलाई डिजिटाइज्ड गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजिज प्रालि ‘सिड स्टार्स वल्र्ड प्रतिस्पर्धा २०२०/२०२१’ का लागि नेपालबाट विजयी बनेको छ । नेपाललगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रतिस्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजिज छानिएको हो । मंगलबार ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एसिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो ।
यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई अब अटोमेसनमा लैजान थप कामहरू गर्ने अवसर प्राप्त गर्नेछ । अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने, ‘यो वर्षको सिडस्टार्समा नेपालबाट हामी विजेता बन्न पाउँदा धेरै हर्षित छौँ । हामीले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटाइज गर्दै आएका छौँ । अब हामीले यी क्षेत्रलाई पुर्ण अटोमेसनमा लैजाने गरी काम गर्नेछौँ र उपभोक्तालाई थप सहजता दिलाउनेछौँ ।’
नेपालमा दियालो टेक्नोलोजीले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्नुका साथै मिटर रिडिङदेखि अनलाइनबाट भुक्तानी गर्न सकिने किसिमको प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ । यस्तै दियालोले सार्वजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने सेवा ‘बस सेवा डटकम’मार्फत दिँदै आएको छ । यसैगरी कम्पनीले नेपालमै पहिलोपटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’लगायतका थुप्रै सफ्टवेयर निर्माण गर्दै आएको छ ।