सुबास बस्नेत
दोलखा ।
दोलखाका नौ स्थानीय तहमा रहेका विभिन्न ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिका लागि केन्द्र सरकारबाट आठ करोड रूपैयाँ विनियोजन भएको छ । डिभिजन सडक कार्यालय चरीकोटअन्तर्गत निर्माण हुने सडकका लागि उक्त रकम विनियोजन गरिएको हो । चालू आर्थिक वर्षमा डिभिजन सडक कार्यालयअन्तर्गत १६ वटा सडकको निर्माण तथा स्तरोन्नतिका लागि आठ करोड रकम आएको डिभिजन सडक कार्यालय चरीकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।
जिल्लाका १६ वटा सडकका लागि ५०÷५० लाख रूपैयाँ विनियोजन भएको डिभिजन प्रमुख महतोले बताए । यस वर्ष स्तरोन्नति गरिने सडकहरूमा चरीकोट–दोलखा–कालिञ्चोक, सुनखानी–साङ्बा, लिसे–झाँक्रे– लेखर्क– डाँडागाउँ– खोल्मे, मालु–डाँडागाउँ–छौंडे, नाम्दु–जँगु–झ्याँकु– भोर्ले र भिर्कोट–छौडे–देउराली रहेका छन् । यस्तै पुष्पलाल मार्ग– चनौटे– बाँझे– झुले–जिरी, किराँतिछाप– दूधपोखरी– २१ किलो, दोलखा– लामाबगर, खावा–रामबोले– जिरी, अनाथालय–तिखातल– दोलखा बजार र जिरी–सल्लेरी–नाम्चे– ढिंग्री सडक छन् ।
यसैगरी बजेट विनियोजन भएका अन्य सडकहरूमा तामाकोशी– लामाबगर–चीन बोर्डर, जामुने– कसेरी–खारे–छेसाखारे–मार्बु गौरीशंकर चक्रपथ, ठूलोपाताल–लहरेमाने–भित्रे–लहरेमाने–उपल्लो सुरी तथा खावा–लहरेमाने–चिप्चिपे–खोल्मे सडकको स्तरोन्नति तथा नयाँ ट्र्याक खोल्ने काम गरिने डिभिजन प्रमुख महतोले जानकारी दिए ।
चालू आर्थिक वर्षमा ठेक्कामार्फत काम हुने कुल १६ सडकमध्ये छवटा नयाँ हुन् भने बाँँकीमा पुरानै कामलाई निन्तरता दिइने कार्यालयले बताएको छ । बजेट विनियोजन भएका सडकका लागि विनियोजित रकमबाट कटिङ, फिलिङ, ग्याबिन भर्ने, कल्भर्ट निर्माण, सोलिङ, पर्खाल निर्माणलगायत काम गरिने डिभिजन सडक कार्यालय दोलखाले जानकारी दिएको छ ।