काठमाडौं ।
एम्नेस्टी इन्टरनेसनल, वाटरएड र अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जालले भारत, बंगलादेश, नेपाल र पाकिस्तानका अधिकारीहरूलाई आफ्नो ज्यानै जोखिममा राखी कोभिड–१९ महामारीको अग्रपङ्क्तिमा कार्यरत सरसफाइकर्मीहरूलाई सुरक्षित राख्नका लागि तत्काल उपयुक्त कदम चाल्नका लागि आह्वान गरेका छन् ।
संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवस मनाउँदै गरेको सन्दर्भमा उनीहरूले बिहीबार एक विज्ञप्ति जारी गरी दक्षिण एसियाभरि शौचालय र बाटो सफा गर्ने, चर्पीको खाडल खाली गर्ने र ढल मर्मत गर्ने श्रमिकहरूले स्वास्थ्य र सुरक्षासँग सम्बन्धित चर्को जोखिम भोगिरहेको बताएका छन् । सरसफाइकर्मीहरूले व्यक्तिगत सुरक्षात्मक उपकरण, जोखिमलाई सामना गर्ने तालिम, रोजगार सुरक्षा, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र हात धुने सुविधामा पहुँच आदिको अभाव झेलिरहेका छन् । यी देशमा सरसफाइसम्बन्धी काममा देखिने जातियताको आयामले गर्दा सरसफाइकर्मीहरूले अन्य पेसा अँगाल्न खोज्दा वा सुविधाहरू प्राप्त गर्ने क्रममा उच्चरूपमा लाञ्छित हुने वा विभेदको शिकार हुने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वाटरएडद्वारा गरिएको नयाँ अनुसन्धानले भारत, पाकिस्तान, नेपाल र बंगलादेशमा कोभिड–१९ महामारीले गर्दा यी श्रमिकहरूको स्थिति अझै बढी नाजुक भएको देखाएको छ । कोभिड १९ सम्बन्धी जोखिमका बारेमा र व्यक्तिगत सुरक्षात्मक उपकरण कसरी प्रयोग गर्ने भन्ने विषयमा सीमित तालिम दिएकै आधारमा कतिपयलाई त कोभिड–१९ क्वारेन्टाइन केन्द्रहरूमा सेवा गर्नका लागि पुनः खटाउने पनि गरिएको छ । कतिपय अवस्थामा काम गर्ने समयावधि बढाइएको र त्यसरी बढाइएको अतिरिक्त समयको पारिश्रमिक नदिइएको तथा कतिपय अवस्थामा उनीहरूले प्रदान गर्ने सेवाको मागमा पनि कमी आएको कारणले सफाइकर्मीहरूको आर्थिक सुरक्षा प्रभावित भएको छ ।
लकडाउनका कारण उनीहरूको यातायात खर्च पनि बढेको र रोजगारदाताले मास्क र अन्य उपकरण उपलब्ध नगराएपछि धेरैले आफ्नै पैसाले यी सामग्रीहरू किन्नुपर्ने बाध्यता रहेको वाटरएडले जनाएको छ । ‘सरसफाइकर्मीहरू महामारीको अवधिभर दक्षिण एसियाका सहर र नगरहरूलाई गतिशील राख्ने लुकेका श्रमशक्तिका रूपमा देखिएका छन् तर उनीहरूले धेरै खराब र प्राय आफ्नो ज्यानै जोखिममा रहेको अवस्थामा काम गरिरहेका छन् र उनीहरू जात र धर्मको आधारमा गरिने विभेद र लाञ्छनाको शिकार पनि बन्ने गरेका छन्,’ वाटरएडका दक्षिण एसिया क्षेत्रीय एड्भोकेसी म्यानेजर वनिता सुनेजाले भनिन्, ‘कोभिड–१९ र लकडाउनका कारण खासगरी अनौपचारिक रूपमा काम गरिरहेका यी सरसफाइकर्मीहरूमा यस्ता जोखिमहरू अझ गम्भीर भएका छन् ।
धेरैजसो महिला सफाइकर्मीहरू अनौपचारिक श्रमिकका रूपमा रहेका छन् र उनीहरूले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेका छन् । यी श्रमिकहरूको सुरक्षा र मर्यादा असमानुपातिक रूपमा प्रभावित भएको छ ।“ अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जालले बिनाकुनै सुरक्षा उपकरण ढल निकास वा बिनासुरक्षात्मक उपकरण सुख्खा शौचालय सफा गर्ने काम गर्न बाध्य पारिएका तल्लो जातका सफाइकर्मीहरूको दुरावस्थालाई उजागर गर्दै अभियानहरू चलाएको छ ।