काठमाडौं ।
नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन १ जीबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर शुक्रबार राति १२ बजेपश्चात् लागू भएको कम्पनीले जनाएको छ । हाल उपलब्ध भइरहेको प्रतिदिन एक जीबी डाटा प्याकअन्तर्गत प्रतिदिन १ जीबी डाटा प्रयोग गर्न सकिने गरी सात दिनका लागि दुई सय ५० रुपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि आठ सय ५० रुपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुने गरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।
सोअनुसार इको भ्वाइस प्लस डाटा कम्बोअन्तर्गत दुई सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन एक जीबी डाटाको हिसाबले जम्मा सात जीबी डाटा सात दिनभित्र प्रयोग गर्न सकिनेछ । यसैगरी आठ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा तीन सय ९२ मिनेट भ्वाइस कल र प्रतिदिन एक जीबी डाटाको हिसाबले जम्मा २८ जीबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिनेछ ।