लन्डन ।
बेलायती सवारीसाधन उद्योगले ईयू–बेलायत सम्झौताविनै बेलायतको बहिर्गमन भए ५५ अर्ब पाउन्ड स्टर्लिङबराबरको घाटा व्यहोर्न सक्ने बताइएको छ । बीबीसीका अनुसार यदि ब्रेक्जिट सम्झौता नभए उक्त परिमाणको सवारीसाधन उत्पादन घट्ने चेतावनी दिइएको हो ।
मोटर उत्पादक तथा व्यापारीहरुको समाज (द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स)ले सरकारलाई त्यस्तो परिस्थिति आउन नदिन सरकारलाई आग्रह गरेको छ । उसले विश्व व्यापार संगठनको नियमअनुसार लाग्ने करबाट जोगिन पनि ब्रेक्जिट सम्झौता गर्नैपर्ने सुझाव दिएको छ । युरोपेली अटोमोटिभ क्षेत्रले कोरोना महामारीका कारण ठूलो घाटा व्यहोरेका छन् । यस्तोे अवस्थामा व्यापार करले यस क्षेत्रलाई थप मार पर्ने एसएमएमटीको ठहर छ ।
बेलायत युरोपबाट अलग्गिने क्रममा छ । जनवरी ३१ मा बेलायत युरोपबाट बाहिरिनेछ । ३८ दिनको समयावधि बाँँकी रहँदा सम्झौताविना हुने ब्रेक्जिटले ययो क्षेत्रको अर्को पुस्ताको कार्बन उत्सर्जनशून्य कार उत्पादन तथा विकासको योजनामा गम्भीर धक्का पुग्ने उसको भनाइ छ । सन् २०२५ सम्ममा विश्व व्यापार संगठनको करले बेलायती कार व्यवसायलाई ५५ अर्ब पाउन्ड स्टर्लिङको कार उत्पादन घटाउनेछ । यसबारे बेलायती सरकारले भने केही बताइसकेको छैन । सेप्टेम्बरमा सन् १९९५ यता बेलायती कार उत्पादन अहिलेसम्मकै सुस्त उत्पादन भएको थियो ।