सोलुखुम्बु ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसामा बौद्व धर्म भाषाको पठनपाठन हुने भएको छ । सोलुखुम्बुको प्रदेश (क) का सांसद उत्तमकुमार बस्नेत र गाउँपालिका अध्यक्ष असिम राईले एक औपचारिक कार्यक्रमका बीचमा पठनपाठनको उद्घाटन गरेका हुन् । गाउँपालिकाले शिक्षक कोटा उपलब्ध गराएसँगै बोगल ओर्गेन छोलिङ गुम्बामा उक्त कक्षा सञ्चालन गर्ने गुम्बा व्यवस्थापन समितिले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद उत्तमकुमार बस्नेतले हरेक जातजाति र भाषाको संरक्षण र संवर्द्धन गर्दै तीन तहको सरकार अगाडि बढेको बताए । सबैले आफ्नो मातृ भाषामा अध्ययन गर्न पाउनुपर्ने उनको भनाइ थियो ।
यस्तै गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाको वडा नम्बर ९ लोखिम र वडा नम्बर ७ देउसामा सञ्चालन हुने उक्त कक्षालाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कक्षा सञ्चालनका लागि गाउँपालिकाले कुनै पनि कसर बाँकी नराख्ने अध्यक्ष राईको भनाइ छ । सो अवसरमा बोगलवासीले गाउँपालिका अध्यक्ष असिम राईसमक्ष विभिन्न सहयोगका लागि अनुरोधपत्र बुझाएका छन् ।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष फुरा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद उत्तमकुमार बस्नेत, गाउँपालिका अध्यक्ष असिम राई, वडा नम्बर ७ का अध्यक्ष रामसंघर्ष किराँती, कार्यपालिका सदस्य गोपाल घिमिरे, तामाङ घेदुङ संघ सोलुखुम्बुका अध्यक्ष धर्मबहादुर तामाङ, निर्माण व्यवसायी संगठन सोलुखुम्बुका कोषाअध्यक्ष दावा तामाङ, पत्रकार महासंघ सोलुखुम्बुका उपाध्यक्ष भोजराज कार्की, थुलुङ दुधकोशी शिक्षा शाखा प्रमुख प्रेमबहादुर तामाङलगायतले कक्षा सञ्चालनको लागि शुभकामना व्यक्त गरेका थिए । अधिकांश वक्ताहरूले पठनपाठनलाई निरन्तरता दिनुपर्ने बताए । सुरु गर्नुभन्दा पनि निरन्तरता दिनु प्रमुख भएको सहभागीहरूको भनाइ छ ।