काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) सञ्चालनको लागि अनुमति दिएको छ । सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाललाई बोर्डले मर्चेन्ट बैंकरको रूपमा संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्रदान गरेको हो । संस्थाले पुँजी निर्माण तथा संगठित संस्थाको संरचना हेरफेर, व्यावसायिक योजना निर्माण, लोन सिन्डिकेसन, भेन्चर क्यापिटल, वर्किङ क्यापिटल फाइनान्सिङ, प्राइभेट इक्वीटी, हेज फन्डलगायत कोष सञ्चालन, सम्पति व्यवस्थापन तथा मूल्यांकनको परामर्श सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।
हाल संस्थाको चुक्ता पुँजी तीन करोड सात लाख रुपैयाँ रहेको छ भने मर्चेन्ट बैंकरहरूमध्ये संस्थागत परामर्शदाताको रूपमा मात्र विशिष्ट सेवा प्रदान गर्ने पहिलो कम्पनीको रूपमा बोर्डले लाइसेन्स दिएको हो । संस्थाले दक्ष चार्टर्ड एकाउन्टेन्ट, बिजनेस एनालिस्ट एवं सम्बन्धित विषयका विज्ञ परामर्शदाताहरू नियुक्ति गरेको र अन्तर्राष्ट्रियस्थरको सेवा प्रदान गर्ने जानकारी कम्पनीका डाइरेक्टर दिपेन्द्र बास्कोटाले बताए ।