काठमाडौं ।
ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता भएको छ । बैंकका अनुसार डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि उक्त कम्पनीसँग सम्झौता गरिएको हो । सम्झौतापछि ज्योति विकास बैंकमार्फत ग्राहकवर्ग हरूले डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीमा बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी सिधै पैसा लोड गर्न सक्नेछन् । सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा खल्तीका तर्फबाट कम्पनीका निर्देशक सुमित अग्रवालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।
सम्झौतासँगै अब ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन् । खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ, ई–कमर्समार्फत किनिएको समानको भुक्तानी तथा अन्य थुप्रै सेवाहरूको मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ ।
खल्तीसँगको यस सहकार्यपछि ज्योति विकास बैंकका ग्राहकहरूलाई थप सहजता हुनेछ । हाल ज्योति विकास बैंकले एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३४ अर्ब ६० करोड लगानी गर्न सफल भएको छ ।