कञ्चनपुर ।
भीमदत्त नगरपालिका १८ जानकीटोल डेरा गरी बस्ने भारतको उत्तराखण्ड घर भएका ३० वर्षीय अर्जुन शर्मा र उनकी श्रीमती २६ वर्षीया रितिका कुमारी बमलाई एक हजार दरको दुुई थान नक्कली नोटलगायतका विभिन्न सामानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका ४ स्थित बजारमा किनमेल गरिरहेको अवस्थामा उनीहरुको साथमा नक्कली नोट छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तलासी गर्दा रितिकाको खल्तीमा उक्त नक्कली नोट फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
साथै उनीहरुको घरबाट नक्कली नोट बनाउन प्रयोग गरेको एक थान फोटोकपी मेसिन, एक थान ल्यापटप, नक्कली नोट फोटोकपी गरिएको ८४ थान एफोर साइजको पेपर, आधा पेजमा फोटोकपी गरिएको ४३ थान पेपर, विभिन्न बैंकका चेकबुक, एटीएम कार्ड, कैची, लाइटर, किबोर्ड, माउस र ६० थान फोटोकपी पेपर प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।