काठमाडौं ।
पछिल्लो एक सातादेखि नेपालको सेयरबजार निरन्तर उकालो यात्रामा छ । अधिकांश क्षेत्रमा लगानी गर्नेहरु राम्रै आम्दानी गरिरहेका छन् । अहिले सेयरबजारमा लगानी गर्नेहरु हौसिएर लगानी गरिरहेका छन् । केही कम्पनीको त केही दिनदेखि लगातार मूल्य सबैभन्दा उच्च विन्दुले बढिरहेको छ । यद्यपि बजारलाई बलियो बनाउने वाणिज्य बैंकहरुको सेयर मूल्य भने खासै बढ्न सकेको छैन ।
सेयरबजार परिसूचक बुधबार पनि राम्रैसँग उकालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक ७० दशमलव ६२ अंकले बढेर दुई हजार ७१ दशमलव दुई अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव २५ अंकले उकालो लागेर तीन सय ९६ दशमलव चार अंकमा चढेको छ । बुधबार कुल दुई सय एकवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ६१ हजार छ सय ३६ पटकको कारोबारमा एक करोड ५५ लाख ६४ हजार चार सय २७ कित्ता सेयर खरिदबिक्री भएको छ । उक्त परिमाणमा सेयर खरिद हुँदा कुल कारोबार रकम सात अर्ब ४६ करोड ३४ लाख ८२ हजार नौ सय ७२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा बुधबार १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये टे«डिङ समूहको सूचक १६ दशमलव ६३ अंकले ओरालो लागेर २३ सय ११ दशमलव ७४ अंंकमा झरेकोमा बाँकी समूहको सूचक भने उच्च अंकले उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव ३८ अंकले उकालो लागेर १५ सय सात दशमलव ३२ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि २२ दशमलव ५९ अंकले उकालो लागेर २२ सय ३९ दशमलव ७१ अंकमा चढेको छ ।
यसैगरी जलविद्युत् समूहको सूचक पनि ८८ दशमलव ९९ अंकले उकालो लागेर १७ सय २१ दशमलव ३१ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि दुई सय ३२ दशमलव ५६ अंकले उकालो लागेर तीन हजार एक सय ५८ दशमलव ५४ अंकमा चढेको छ । यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि दुई सय ४४ दशमलव ८२ अंकले उकालो लागेर एक हजार ७९ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि छ सय आठ दशमलव ७३ अंकले उकालो लागेर १२ हजार आठ सय ६४ दशमलव ९५ अंकमा चढेको छ । यि बाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ५१ दशमलव १६, तीन दशमलव ७६, तीन सय तीन दशमलव १२, एक सय ४० दशमलव ८९ र शून्य दशमलव शून्य चार अंकले उकालो लागेका छन् ।
यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मिथिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ११ सय ३३ रुपैयाँमा कारोबार भएको छ । दोेस्रो स्थानमा परेको साञ्जेन जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि १० प्रतिशतले बढेर दुई सय ७५ रुपैयाँमा कारोबार भएको छ । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य पाँच दशमलव १९ प्रतिशतले घटेर २० हजार एक सय रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको नेपाल बंंगलादेश बैंकको पनि सेयर मूल्य तीन दशमलव ३४ प्रतिशतले घटेर दुई सय ८९ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल टेलिकमको सबैभन्दा बढी रकम कारोबार भएको छ । यसदिन टेलिकमको प्रतिकित्ता १२ सय ९२ रुपैयाँ अन्तिम मूल्यमा ४० करोड सात लाख ८३ हजार सात सय ५५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १९ सय ९७ रुपैयाँ अन्तिम मूल्यमा ३० करोड ६२ लाख दुई हजार छ सय ८६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नविल बैंक, नागरिक लगानी कोष आदिको पनि बढी रकम कारोबार भएका छन् ।