काठमाडौं ।
अर्थ मन्त्रालयले सम्पूर्ण कागजात र प्रक्रिया पूरा भएका कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्रै निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले बीमा समितिको नाउँमा बिहीबार पत्राचार गर्दै उक्त निर्देशन दिएको हो । कोरोना बीमाको दाबी भुक्तानीको काममा ढिलाइ गरेको भन्दै बीमा समितिलाई पुनः कडा निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी तीन दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी दिन निर्देशन दिएको हो । यसैगरी प्रमाणीकरण गर्न बाँकी दाबीको प्रमाणीकरण पनि यथाशीघ्र गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा देखिएका समस्याबारे जानकारी दिन समितिलाई भनिएको छ ।
मन्त्रालयले बीमा समितीलाई दिएको निर्देशनमा भनिएको छ, ‘हाल कुन–कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेन्डिङ (रोकिएको) मा छ, सोको विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के कति प्रयास भइरहेको छ, मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन्, यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनुहुन अनुरोध छ । यसैगरी कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको छ ।