काठमाडौं ।
सीबीआईएल क्यापिटल लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष पारसकुमार काफ्लेको अध्यक्षतामा शुुक्रबार कम्पनीले १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले प्रस्तावित साधारण प्रस्तावहरूअन्तर्गत आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरण पारित गरेको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि लेखा परीक्षण समितिको सिफारिसमा साविकका लेखापरीक्षक श्री सुबोध एसोसिएट्सलाई लेखापरीक्षक नियुक्त गरेको छ । साथै, आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर) सेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट)को काम गर्ने साथै डिम्याट खाता खोल्ने, सेयरहरू अभौतिकीकरण गर्ने, सामूहिक लगानी कोषको प्रर्वद्धन गर्नेजस्ता लगानी कर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सीबीआईएल क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी हो । यो कम्पनीमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरूको सहलगानी रहेको छ । काठमाडौँ डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्टार कार्यालय रहेको छ र यहीबाट नै मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आएको छ ।