काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार पुुनः १७ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यसरी बिक्री गर्न लागिएको ऋणपत्र पुरानो नवीकरणअन्तर्गतको हो । यसअघि यही मंसिर १५ गते पनि तीन अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले पछिल्लोपटक वार्षिक आन्तरिक ऋण तालिकाअनुसार दोस्रो चौमासिक ऋण तालिकाको पूर्वनिर्धारित लक्ष्यअनुसार ट्रेजरी बिल बिक्री गर्नलागेको हो ।
जारी मिति २०७७ मंसिर २३ गते तोकिएको पछिल्लो ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये २८ दिनमा परिपक्व हुने पाँच अर्ब र ९१ दिनमा परिपक्व हुने १२ अर्ब २६ करोड रुपैयाँ रहेको छ । जसमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने २०७७ पुुस २१ गते तोकिएको छ भने ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ फागुन २५ गते तोकिएको छ ।
यसअघि यही मंसिर १५ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारको लागि दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । सोमध्ये चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधि अर्थात् यही कात्तिक मसान्तसम्ममा ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा लक्ष्यअनुसार सबै आन्तरिक ऋण बिक्री गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।
चालू आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिकाअनुसार चालू आवको दोस्रो चौमासिक अवधिमा ५६ अर्ब र तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण निष्काशन गरिनेछ । चालू आवको प्रथम चौमासिकको लागि छु्ट्याइएको कुुल आन्तरिक ऋण तालिकाअन्तर्गत भने सात अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र रहेको छ ।
यसैगरी दोस्रो त्रैमासिकको लागि छुुट्याइएको आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।
चालू आवको तेस्रो चौमासिक अवधिमा निष्काशन गरिने कुल आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।