काठमाडौं ।
कुमारी बैंकले चित्रवन नेचर क्योर हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोपचारका लागि प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्योर हस्पिटल प्राइभेट लिमिटेडबीच स्वास्थ्य सेवामा छुट दिने विषयमा सम्झौता गरेको हो ।
सम्झौतामा बैंकका तर्फबाट नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र चित्रावन नेचर क्यूअर अस्पतालका तर्फबाट निर्देशक डा. विशाल सापकोटाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार चित्रावन नेचर क्योर हस्पिटलमा बेड चार्जेज, जेनेरल प्याथोलोजी, बाह्य रोग उपचारलगायत विभिन्न स्वास्थोपचार सेवाशुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले आफ्ना देशव्यापीरूपमा फैलिएका एक सय ८६ शाखा सञ्जाल, एक सय ३८ एटीएम, २२ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे छ । आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जाहेर गरेको छ ।