काठमाडौं ।
यस साता सेयर बजार परिसूचक दुई हजार ३१ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८५ दशमलव ९४ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय पाँच वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार दुई लाख ५९ हजार दुई सय पाँच पटकको कारोबारमा चार करोड ४७ लाख ६६ हजार चार सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३० अर्ब आठ करोड ७५ लाख १९ हजार एक सय ३५ रुपैयाँ पुगेको छ ।
कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले बढी हो । गत साता भने धितोपत्र बजारमा दुई सय दुईवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार दुई लाख ५६ हजार पाँच सय ९९ पटकको कारोबारमा छ करोड छ लाख तीन हजार २७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २८ अर्ब ४८ करोड ८५ लाख ४३ हजार सात सय ७० रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन नेप्से बढेको थियो भने तेस्रो, चौथो र पाँचौँ दिन नेप्से घटेको थियो ।
पहिलो दिन बजार परिसूचक ४६ दशमलव ४३ अंकले उकालो लागेर दुई हजार १० दशमलव ४५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव नौ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ११ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक ५६ दशमलव ७२ अंकले उकालो लागेर दुई हजार ६७ दशमलव १७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव चार अंकले उकालो लागेर तीन सय ८८ दशमलव १६ अंकमा चढेको थियो ।
तेस्रो दिन बजार परिसूचक पाँच दशमलव ७५ अंकले ओरालो लागेर दुुई हजार ६१ दशमलव ४१ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७४ अंकले ओरालो लागेर तीन सय ८७ दशमलव ४२ अंकमा झरेको थियो । चौथो दिन पुुनः बजार परिसूचक छ दशमलव दुई अंकले ओरालो लागेर दुई हजार ५५ दशमलव २२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ४३ अंकले ओरालो लागेर तीन सय ८६ दशमलव ९८ झरेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक २२ दशमलव सात अंकले ओरालो लागेर दुई हजार ३२ दशमलव ५१ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव चार अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ९४ अंकमा झरेको थियो ।
यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल बैंक, प्रभु बैंक आदिको बढी सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सूचीकरण तथा भने यस साता जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल लिमिटेडसहितका चारवटा कम्पनीहरूको बोनस, साधारण तथा हकप्रद सेयर सूचीकृत भएका छन् ।