काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार गठित विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन भएका छन् । महासंघ सचिवालयमा आइतबार आयोजित एक विशेष समारोहका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले पदाधिकारीहरूको समुपस्थितिमा विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्रसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरे ।
उद्योग समिति भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डीबी बस्नेत, महिला उद्यमी विकास समिति रिता सिंह, स्थल यातायात तथा पारवहन समिति प्रकाश सिंह कार्की, कर तथा राजस्व समिति संदिप कुमार अग्रवाल, पर्यटन तथा हवाइ यातायात समिति ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बीमा समितिमा साहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समिति आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोेभेसन समिति रंजितराज आचार्य, स्थानीय विकास समिति सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समिति हेमराज ढकाल, निर्यात प्रवर्द्धन समिति मनिषलाल प्रधान, व्यापार मेला समिति नरेन्द्र खड्का, ऊर्जा तथा वातावरण समिति गोपाल खनाल र सहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी फोरमतर्फ द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम इन्जिनियर देशबन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरम राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरम आकाश अधिकारी, पुँजी बजार फोरम अम्बिका प्रसाद पौड्याल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका कार्यकारिणी समितिका सदस्यहरूले सिंगो निजी क्षेत्रलाई सशक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने कार्यमा आ–आफ्नो जिम्मेवारीलाई परिणाममुखी ढंगले निर्वाह गर्ने अपेक्षा गरे । साथै उनले आ–आफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई समिति तथा फोरमका कार्यलाई अगाडि बढाउन शुभकामना समेत दिए । वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नवनियुक्त सभापतिहरूलाई बधाईसहित जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने कार्यमा सफलताको शुभकामना दिए । कार्यक्रममा उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता थियो ।