काठमाडौं, पुस १८
राष्ट्रियसभा निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ५६ जना मतदाता रहेका छन् । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ९ गते हुँदै छ । आयोगका अनुसार सात वटा प्रदेशका पाँच सय ५० जना प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार पाँच सय छ जनासहित दुई हजार ५६ जना मतदाता रहेका छन् ।
ती मतदाताले आ–आफ्नो प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गएर मात्र मतदान गर्न पाउने छन् । निर्वाचन आयोगले प्रदेश नं. १ को लागि मोरङ, प्रदेश नं. २ को लागि धनुषा, प्रदेश नं. ३ को लागि ललितपुर, गण्डकी प्रदेशको लागि कास्की, प्रदेश नं. ५ को लागि दाङ, कर्णाली प्रदेशको लागि सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि डोटीमा निर्वाचन हुने स्थान तोकेको छ । ती सबै प्रदेशका निर्वाचन कार्यालयले बिहीबार मतदाता नामावली सार्वजनिक गरेका हुन् । नामावलीमाथि बिहीबार नै दाबी विरोध सकिएको छ । शुक्रबार बिहान अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ ।