काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति संयम भएर निर्णय लिन मुलुकका प्रमुख राजनीतिक दलहरूलाई आग्रह आग्रह गरेका छन् । निजी क्षेत्रले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको बताएका छन् ।
निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि बारम्बार सुझाव दिँदै आएको भन्दै राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गति लिनसक्ने बताएको छ ।
विश्वव्याधि कोभिड १९ का कारण मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुनसक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक स्थिरताको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्योल सृजना गर्नेमा निजी क्षेत्र सशंकित एवं चिन्तित भएको छ र भर्खरै चलायमान हुनथालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जीविकोपार्जनमा समेत गम्भीर असर पर्नेमा हाम्रो चिन्ता छ ।’ महासंघ, चेम्बर र परिसंघले संयुक्त रुपमा आजको यस विषम परिस्थितिमा सम्पूर्ण राजनीतिक दलहरूसमक्ष सुझबुझ र संयमपूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेको छ ।