सोल ।
दक्षिण कोरियाले रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय मंगलबार गरेको छ । दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय मुख्यालयका अनुसार आगामी बिहीबारदेखि जनवरी ३ सम्म यो नियम लागु हुनेछ । क्रिसमस र नयाँ वर्षका लागि नागरिकहरू भोजभतेरमा सहभागी हुने बढी सम्भावना रहेको र यसले महामारी थप फैलिन सक्ने कारण दुई हप्ता भोजभतेर र रमाइलोमा नजान आग्रह गरिएको सरकारी अधिकारीले बताएका छन् ।
राजधानी सियोल, ग्योङ्जी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्यिोनमा घरभित्र वा बाहिर परिवारका सदस्यबाहेक चार जनाभन्दा माथि भेला हुन नपाइने व्यवस्थालाई बुधबारदेखि लागू गर्ने सूचना यसअघि नै भइसकेको छ । केन्द्र सरकारले वर्षान्तका समय हुने सामान्यभन्दा सामान्य भेलालाई पनि रद्द गर्न र कोभिड–१९ संक्रमण फैलिन नदिन देशव्यापीरूपमा आग्रह गरेको छ । यसअघि नै निश्चित गरिएका कार्यक्रमहरूलाई पनि सरकारको निर्देशनबमोजिम सम्पन्न गर्न अधिकारीहरूले सुझाव दिएका छन् ।
उक्त अवधिमा सिनेमा हल वा कन्सर्टमा पनि साँझ नौ बजेपछि सेवा सञ्चालनलाई रोक्न भनिएको छ । स्कीलगायतका खेलकूद गतिविधिहरूलाई पनि आगामी १० दिन पूर्णतया रोक लगाइएको छ । उक्त समय पर्यटन, पार्क सवारी बन्द गरिनेछ भने होटेल, गेष्ट हाउस र अन्य आवासीय व्यवस्थापनलाई एक तिहाई क्षमतामा मात्र सञ्चालन गर्न भनिएको छ भने डिपार्टमेन्ट स्टोर्समा जाँदा फर्किदा पाहुनाको तापक्रम लिन अनिवार्य गरिएको छ ।
पछिल्लो तथ्यांकअनुसार दक्षिण कोरियामा विगत २४ घण्टामा ८ सय ६९ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म कुल संक्रमितको संख्या ५१ हजार ४ सय ६० पुगेको छ । यहाँ विगत दुई दिनमा लगातार करिब एक हजारको हाराहारीमा संक्रमित देखिएकाभएपनि विगत ४५ दिन अर्थात् नोभेम्बर ८ पछि उक्त संख्या झण्डै एक सयभन्दा माथि रहने गरेको थियो ।